आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

सर्लाहीमा फेला पर्‍यो नक्कली रासायनिक मल उद्योग

गोकर्णेश्वर खबर२५ कार्तिक २०८०, शनिबार ०९:३० मा प्रकाशित (५ महिना अघि) ९१ पाठक संख्या

सर्लाहीमा प्रहरीले नक्कली रासायनिक मल बनाउने उद्योग फेला पारेको छ। नक्कली रासायनिक मल बनाएर सर्वसाधारणलाई ठगी गरिरहेको गिरोहलाई सर्लाही प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो।

सर्लाहीको कौडेना गाउँपालिका(५ छपकैयाका ३० वर्षीय सुनिल कुमार यादवले आफ्नै घरमा नक्कली रासायनिक मल बनाएर बेच्ने गरेको रहस्योद्घाटन भएको हो।

जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले यादवको घरलाई खानतलासी गर्दा नक्कली रासायनिक मल बनाउने विभिन्न सामग्रीका साथै रासायनिक मलको खाली नयाँ बोराहरु सयौँको संख्यामा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भारतीय युरिया मल १४ बोरा, नेपाली पोटास मल ४ बोरा, भारतीय चिनी २ बोरा, युरिया मलको ४० ओटा खाली बोरा, टाटा नुनको खाली १११ बोरा तथा कृषक पोटास लेखिएको खाली ५० बोरा बरामद भएको छ।

साथै प्रहरीले यादवको घरबाट दुई ओटा भारतीय मोटरसाइकल पनि बरामद गरेको छ। बिआर ५५ ए १६०४ र बिआर ३० ए ६०४२ नम्बरको मोटरसाइकलसहित प्रहरीले २८ वर्षीय सुनिल कुमार यादव र मलंगवा नगरपालिका(५ का १९ वर्षीय विशाल यादवलाई नियन्त्रणमा लिएको हो।

नक्कली मल कारखाना र संचालकहरुको विषयमा आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए।