आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्र लंकापुरमा पाठेघर सम्बन्धी रोगहरुको निशुल्क स्वास्थ्य शिविर

गोकर्णेश्वर खबर१३ चैत्र २०८०, मंगलवार २३:३० मा प्रकाशित (१ महिना अघि) १८७ पाठक संख्या

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा ३ ले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । वडाले लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्र लंकापुरमा पाठेघर सम्बन्धी रोगहरुको प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले १ दिने निशुल्क स्वास्थ्य शिविर गरेको हो ।

पछिल्लो समय महिलाहरुमा बढ्दै गएको पाठेघर सम्बन्धी रोगहरुको निशुल्क उपचार तथा भीआईए स्कृनिङ्ग साथै जेष्ठ नागरिकहरुलाइ समेत निःशुल्क स्वास्थ्य उपचार गरिएको लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्र लंकापुरका प्रमुख सुमन थापाले जानकारी दिए ।

उनका अनुसार २५० जना बिरामीको निशुल्क उपचार,ल्याव टेस्ट तथा औषधी वितरण गरिएको थियो । जसमध्ये पाठेघर सम्बन्धि १९० जना महिलाको चेकजाँच गरिएको थियो भने ६० जना जेष्ठ नागरिकले चेकजाँच गराएका थिए ।

१९० महिलामा गरिएको स्वास्थ्य जाँचमा ५ जना महिलामा भीआईए पोजेटिभ,३ जनामा यूट्रेनी प्रो ल्याव र २ जनामा पाठेघरमा मासु पलाएको भेटिएको प्रमुख थापाले बताए ।

पाठेघर तथा महिला रोग विशेषज्ञ डाक्टर हसिना बानुसहितको टिमले शिविरमा सहभागी महिलाहरुको स्वास्थ्य परीक्षण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि एंव नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ज्ञवालीले पहिल्लो समय उपचारका यावत प्रविधि आएपनि महिलाहरुमा जागरुकता र कम सांक्षरताका कारण पनि पाठेघर सम्बन्धी अनेकन रोगहरु बढ्दै गएको बताए । उनले महिलाहरुले पाठेघर सम्बन्धी संवेदशिल रोगहरुलाई समेत लुकाउने र भन्न लजाएका कारण पनि यस्ता समस्या बढ्दै गएकोले नगरपालिकाले स्वास्थ्यका कार्यक्रमलाई प्राथमिताका साथ राखेर निशुल्क शिविरहरु संचालन गरेको उल्लेख गरे ।

“हिजो पाठेघर सम्बन्धिका रोगहरुका कारण स्वास्थ्य उपचार नपाएर मृत्युवरण गर्नुभएका धैरे आमाहरु,दिदि बहिनीहरु हुनुहुन्छ। संसार ग्लोवल भिलेजका रुपमा परिणत भएको छ तर पनि अझै हामीहरुकोमा महिला संम्बन्धीका रोगहरुलाई हेयको रुपमा हेर्ने,महिलाहरुले आफूलाई लागेको रोग ढुक्कसँग भन्न र उपचार गर्न जान लजाउने,सांक्षरता साथै विपन्नताको कमीका कारण पनि यस्ता रोग बढ्दै गएका छन् । यसको न्यूनिकरण आवश्यक छ” प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले भने “कोही गरिबीका कारण उपचार र औषधी नपाएर मृत्युवरण गर्न नपरोस् भन्ने आशयका साथ नगरपालिकाले स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकता साथ राखेको छ । ”

कार्यक्रममा सभाध्यक्ष समेत रहेका वडाध्यक्ष अक्रामुद्धिन नाउ मुसलमानले पाठेघर सम्बन्धी रोगहरुबाट हाम्रा आमा दिदिबहिनीहरुले अकालमा मृत्युको मुखमा नपुगुन भन्ने हेतुले पनि स्वास्थ्य सम्बन्धी कार्यक्रम राखिएको बताए । उनले पाठेघरसँग सम्बन्धित रोगहरु समयमै उपचार गरे निको हुन्छ भन्ने सम्म ज्ञान नहुँदा यस्ता रोग भित्रभित्रै फैलदै गएको बताए । उनले भने -“हाम्रो समाज महिलालाई रोग लाग्दा वित्तिकै परिवार र श्रीमानको स्याहार–सुसार एवं हेरविचार नहुने, बिरामीलाई मलम लगाउँनुको साटो अनावश्यक भ्रम सृजना गर्ने र निको हुने रोगलाई समेत हुँदैन भनेर भ्रम छर्नमा समाज उद्यत छ,महिलालाई प्रोत्सान नभई घृणा र हेय गर्ने प्रवृतिका कायमै छ ।सोही कारण पनि महिलाहरु आफ्ना रोग लुकाउँने संख्या बढ्दो छ । यसको मुख्य कारण साक्षरताको कमी र विपन्नता हो । यसलाई निर्मुल पार्नुपर्छ ।”

वडाध्यक्ष अक्रामुद्धिनले स्वास्थ्य शिविरमा महिला तथा जेष्ठ नागरिकहरुको उल्लेख्य सहभागीता भएको भन्दै आगामी दिनहरुमा समेत स्वास्थ्य सम्बन्धी अन्य कार्यक्रमहरु अझ भव्य रुपमा संचालन गर्ने बताउ । उनले आजको कार्यक्रमले यस्ता कार्यक्रम संचानका लागि थप उर्जा दिएको भन्दै शिविर संचालनको लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा ३ वडाध्यक्ष अक्रामुद्धिन नाउ मुसलमानको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ज्ञवाली, विशिष्ठ अतिथिमा पाठेघर तथा महिला रोग विशेषज्ञ डाक्टर हसिना बानु रहेका थिए भने अतिथिहरुमा लेखाअधिकृत रामचन्द्र अर्याल,जनस्वास्थ्य अधिकृत ध्रुवराज धिमिरे,जनस्वास्थ्य निरिक्षक कृष्ण आचार्य,राजेन्द्र चौधरी,नेत्र आचार्य,वडा सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।

स्वास्थ्य शिविरमा स्थानिय जन प्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविका लगायतले सहयोग गरेका थिए ।