आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

बेलायत आइपुगे मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला

गोकर्णेश्वर खबर१९ असार २०८०, मंगलवार ०९:१५ मा प्रकाशित (१0 महिना अघि) ११७ पाठक संख्या

लन्डन – काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा निर्माण गर्ने लक्ष लिएको विशिष्टीकृत बाल अस्पताल परियोजनाका लागि सहयोग जुटाउन चर्चित मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सोमबार अपरान्ह बेलायत आइपुगेका छन्।

उनले मंगलबार ब्रिटिश संसद, हाउस अफ कमन्स, मा सभामुख भवनमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने छन्। त्यस्तै डा कोइरालाको उपस्थितिमा आउँदो शनिबार, ८ जुलाई बेलुका अल्डरशटस्थित एम्पायर भवनमा एक च्यारिटी डिनरको आयोजना गरिएको छ। उक्त डिनरबाट संकलित रकम बाल अस्पताल निर्माण सहयोगार्थ प्रदान गरिने कियोच सहयोग समिति युकेका संयोजक ओजेश सिंहले बताए।

डा. कोइरालाले नेपालमा गएको १५-२० वर्षमा बाल स्वास्थ्य सेवा प्रवाहमा सुधार भएता पनि त्यस्तो सेवा राजधानीमा मात्रै सीमित रहेको र बालबालिकाको ज्यान जोगाउन देशभरि नै गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक भएकाले साथीहरुसंग मिलेर आफुले यो अभियान शुरु गरेको बताएका छन् ।

डा कोइरालाले पूर्वान्चलको दमकमा बाल अस्पताल निर्माण गरी सेवापनि शुरु भै सकेको र काठमाडौँको हेपाली हाइटमा सबै नेपालीको पहुँच हुन सक्ने एउटा सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने काम अगाडी बढीरहेको बताए । उनले अन्य प्रदेशहरुमा पनि बाल अस्पताल निर्माणका लागि कुराकानी भै रहेको जानकारी दिए। ‘सरकारले मात्रै यो काम सम्पन्न गर्न सक्दैन। उसका अरु प्राथमिकताहरु पनि छन्। त्यसैले यो अभियानमा खास गरी बेलायतमा रहनु भएका नेपालीहरुलाई मन खोलेर सहयोग गर्नु हुन म हार्दिक आग्रह गर्दछु,’ उनले भने। सहयोगको रकम दुरुपयोग नहुने र एक-एक पैसाको हिसाब किताब सार्वजनिक गरिने पनि उनले बताए।
त्यस्तै बेलायतमा दर्ता भएको कल्याणकारी संस्था, हेल्थ एक्सचेन्ज नेपाल, का संस्थापक प्रा सत्येन राजभण्डारीले नेपालमा सबैको पहुँचमा स्वास्थ्य सेवा पुराउन हातेमालो गर्नुपर्ने बेला आएको बताएका छन् । उनले डा कोइराला र साथीहरुले शुरु गरेको बाल अस्पताल निर्माण अभियानलाई यो लिंकमा गएर सक्दो सहयोग गर्न अपिल पनि गरेका छन् ।