आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि, स्वास्थ्यविद्हरुले भने- चिन्ताको विषय

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार ०६:५१ मा प्रकाशित (२ साल अघि) ५६३ पाठक संख्या

काठमाडौं । नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । जनस्वास्थ्यविद्हरुले भारतीय भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको बताएका छन् । गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । यो दुवै भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’ पनि भनिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको हो । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि नयाँ भेरियन्ट चिन्ताको विषय भएको बताएका छन् । ‘यो भेरियन्टले भारतमा जुन गतिमा संक्रमण फैलियो र तहसनहस बनायो । नेपालमा पनि त्यसको संकेत देखिएको थियो,’ डा. पुन भन्छन्, ‘त्यो पुष्टि हुनु हाम्रा लागि चिन्ताको विषय हो ।’