आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अस्ट्रेलियामा फेसबुकले रोक्यो समाचार

गोकर्णेश्वर खबर७ फाल्गुन २०७७, शुक्रबार ०८:४१ मा प्रकाशित (३ साल अघि) ४८३ पाठक संख्या

अस्ट्रेलिया — सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियाका सबै समाचारलाई आफ्नो प्लेटफर्ममा बन्द गरेको छ । अस्ट्रेलिया सरकारले फेसबुक र गुगलमा उपलब्ध हुने समाचारको पैसा तिर्नुपर्ने नियम लगाउने मिडिया कोड संसद्‌बाट पारित गर्ने बताइरहेको बेला फेसबुकले उक्त निर्णय गरेको हो ।

फेसबुकको पछिल्लो कदमसँगै बिहीबारदेखि अस्ट्रेलियाका समाचार संस्थाको अपडेट फेसबुकमा उपलब्ध हुन छोडेको छ । अस्ट्रेलियाका फेसबुक प्रयोगकर्तामाझ अस्ट्रेलियाली समाचार संस्थाका समाचार मात्र नभएर बीबीसी, न्युयोर्क टाइम्सलगायत विश्वका अन्य प्रतिष्ठित समाचार संस्थाको समेत अपडेट बन्द गरिएको छ ।

बीबीसीका अनुसार सरकारले प्रस्ताव गरेको मिडिया कोडअनुसार फेसबुक, गुगलले यहाँका पत्रकारले उत्पादन गरेको समाचार आफ्नो प्लेटफर्ममा सेयर भएबापत् निश्चित रकम तिर्नका लागि सम्बन्धित समाचार संस्थासँग सम्झौता गर्नुपर्नेछ । यदि सम्झौता सफल नभए र कानुन तोडेको पाइएमा १ करोड डलरसम्म जरिवाना हुने वा स्थानीय बजार रकमको १० प्रतिशत जरिवाना तिर्नुपर्नेछ । अस्ट्रेलियाले केही समयअघिदेखि नै ‘न्युज मिडिया बार्गेनिङ कोड’ लाई कानुनी हैसियत दिइने बताउँदै आएको थियो । उक्त कोडमा स्थानीय समाचार संस्थाले प्रकाशन गरेको समाचारलाई फेसबुक, गुगलजस्ता डिजिटल मिडियामा प्रयोग भएबापत् सम्झौता गरेर निश्चित रकम तिर्नुपर्ने व्यवस्था छ ।

उक्त कानुन तल्लो सदनबाट पारितसमेत भइसकेको छ । यसअघि फेसबुकले अस्ट्रेलियाली समाचार संस्थासँग सम्झौता प्रयास गरिरहेको समाचार सार्वजनिक भएको थियो । गुगलले भने केही ठूला समाचार संस्थासँग यसबारे सहमति गरिसकेको बताइएको छ ।

अस्ट्रेलियाका ट्रेजरर जोस फ्रयाडन्बर्गले फेसबुकको निर्णय गलत भएको बताएका छन् । समाचार साइट बन्द गर्ने क्रममा बिहीबार बिहान अन्य साइटसमेत बन्द भएपछि फेसबुकको आलोचना भएको थियो । ट्रेजरर फ्रयाडन्बर्गले मानसिक स्वास्थ्य, आपत्कालीन सेवासँग सम्बन्धित वेबसाइटसमेत बन्द गर्ने फेसबुकको निर्णय मिडिया कोडसँग सम्बन्धित नभएको फ्रयाडन्बर्गले बताएका छन् ।