आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

हमासद्वारा बन्धक बनाइएका २० जनाको मृत्यु, माग सम्बोधन नभए सबैको हत्या गरिदिने धम्की

गोकर्णेश्वर खबर२५ मंसिर २०८०, सोमबार १४:०३ मा प्रकाशित (४ महिना अघि) ३०० पाठक संख्या

एजेन्सी । इजरायलले हमासविरुद्ध व्यापक हवाई तथा स्थल आक्रमण गरिरहँदा हमासले आफ्नो माग पूरा नभएको खण्डमा अपहरणमा परेका सबै बन्धकहरूको ज्यान लिने धम्की दिएको छ ।

गाजामा मानवीय सहायता बढाउनुपर्ने र प्यालेस्टाइनी कैदीहरूलाई छाड्नुपर्ने हमासको माग छ । यदि माग पूरा नभए बन्धकहरू जिउँदै घर नफर्किने हमासको चेतावनी छ । राष्ट्रसंघले पेस गरेको गाजामा युद्धविराम गर्नुपर्छ भन्ने प्रस्ताव अमेरिकाले भिटो प्रयोग गर्दै अस्वीकार गरेपछि हमासको यस्तो धम्की आएको हो ।

गत नोभेम्बरदेखि डिसेम्बर १ सम्म चलेको अस्थायी युद्धविराममा २४० प्यालेस्टाइनी कैदीको बदलामा हमासले १०५ बन्धकलाई छाडेको थियो । अझै १३७ बन्धकहरू हमासको नियन्त्रणमा छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयका अनुसार हिरासतमा रहेका १३७ बन्धकहरूमध्ये पनि २० जनाको भने मृत्यु भइसकेको छ । ती कुन–कुन देशका नागरिकहरू हुन् भनेरचाहिँ केही खुलाइएको छैन ।

हमासले इजरायलकै हवाई कारबाहीहरूमा बन्धकहरू मारिएको दाबी गर्ने गर्दछ । खबरअनुसार अक्टोबर ७ यता जारी युद्धमा गाजामा झण्डै १८ हजारले ज्यान गुमाएका छन्, जसमध्ये ११ हजार बालबालिका, महिला र वृद्धवृद्धा भएको बताइएको छ । इजरायलतर्फ भने १२ सयले ज्यान गुमाएका छन् ।

जारी युद्धमा हमासको सुरुङको सञ्जालले इजरायली सेनालाई चुनौती थपिदिएको विश्लेषण हुन थालेको छ । शक्तिशाली हतियार सम्पन्न इजरायलले हमासलाई सोचेअनुसार आक्रमण गर्न सकिरहेको छैन ।

यस्तोमा हमासलाई समाप्त गर्ने कसम खाएका नेतान्याहुले हमासको ५०० किलोमिटर लामो सुरुङको सञ्जालमा आफ्ना सेनालाई पठाउने कि नपठाउने भनेर निर्णय लिने बेला आएको छ ।

पूर्वब्रिटिस सैन्य खुफिया अधिकारी फिलिप इन्ग्रामका अनुसार इजरायली सेनाले सुरुङभित्र युद्ध गर्न जाँदा कैयौँ कठिनाइहरू भोग्नुपर्नेछ । इजरायललाई हमासको सुरुङ सञ्जालबारे थाहा नभएकाले त्यहाँ राखिएका धरापमा इजरायली सैनिक सहजै पर्न सक्छन् र उनीहरूले ज्यान गुमाउन सक्छन् ।