आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

यस वर्षको तमू ल्होछार टुँडिखेलमा नहुने, सार्वजनिक विदाको माग

गोकर्णेश्वर खबर२१ मंसिर २०७७, आईतवार ०६:४१ मा प्रकाशित (३ साल अघि) ६०० पाठक संख्या

काठमाडौं । काठमाडौंको टुँडिखेलमा धुमधामका साथ मनाइने तमू ल्होछार कोरोनाका कारण यस वर्ष टुँडिखेलमा नहुने भएको छ ।

कोरोना महामारीका कारण तमू ल्होछार विभिन्न संघ संस्थाले अनुकूलताका आधारमा, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाउने तयारी गरेको छ ।

काठमाडौंमा ल्होछार मनाउँदै आएको तमू ह्युला छोंज धिँ गुरुङ राष्टिय परिषद, उपत्यका समितिले यस वर्षको ल्होछारको ढाचा परिवर्तनको तयारी गरेको छ । कोरोनाका कारण ल्होछार सीमित व्यक्ति र समूहमा मनाउने तयारी गरेको थाहा भएको छ ।

परिषदका अध्यक्ष रेशम गुरुङले कोरोनाका कारण विगतको जस्तो ठूलो जनसंख्या उपस्थित भएर ल्होछार मनाउने स्थिति नभएको बताए । तर, आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिनका लागि सानो समूहमा भएपनि उपस्थित भएर कार्यक्रम मनाउने तयारी परिषदको छ ।

ल्होछार कसरी मनाउने भन्ने विषयमा छलफल गर्नका लागि मंसिर २७ गते काठमाडौंमा परामर्श बैठक बोलाइएको छ । सबै संघसंस्थाका प्रतिनिधिहरुको सामूहिक छलफलबाट ल्होछार मनाउने खाका तयार पार्ने तयारी छ ।

विगत तीन वर्षदेखि सरकारले ल्होछार लगायत आदिवासी जनजाति समुदायका चाडको सार्वजनिक विदा कटौती गरेकोमा विरोध जनाउँदै आएको छ । यस वर्ष भने नेवार समुदायको म्हः पूजा र मुस्लिम समुदायको चाडमा सार्वजनिक बिदा दिइसकेको छ ।

तमू ल्होछार पुस १५ मा पनि सरकारले सार्वजनिक विदा दिने अपेक्षा सम्पूर्ण तमू समुदायको छ । तमू समुदायको ल्होछारमा पनि सार्वजनिक विदा दिएर सरकारले समानताको व्यवहार देखाउने अपेक्षा रहेको अध्यक्ष रेशम गुरुङले बताए ।