आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

काभ्रेका जनप्रतिनिधिमा फैलँदो कोरोना संक्रमण

गोकर्णेश्वर खबर१८ कार्तिक २०७७, मंगलवार १४:४५ मा प्रकाशित (३ साल अघि) ३४० पाठक संख्या

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई सोमबार कारोना पोजेटिभ पुष्टि भयो । कोरोना भाइरस संक्रमण पुष्टि भएलगत्तै उनी ढुङ्खर्कस्थित होम आइसोलेसनमा छन् । उनले पछिल्ला केही दिनदेखि आफूसँग सम्पर्कमा रहेकामा सतर्कता अपनाउन अपिल गरेका छन् ।

पनौती नगरपालिका प्रमुख भीमप्रसाद न्यौपाने पनि हप्तादेखि कोरोना संक्रमणका कारण होम आइसोलेसनमै छन् । बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादे, उपप्रमुख रेखा दाहाल सापकोटालगायत दुई वडाध्यक्ष कोरोना संक्रमणसँग जुधिरहेका छन् । संक्रमित सबै जनप्रतिनिधि हाल होम आइसोलेसनमै छन् । परिवारसहित संक्रमित धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठ भने हालै मात्र कोरोनामुक्त भएका छन् ।

पछिल्लो समय काभ्रेपलाञ्चोकमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेसँगै स्थानीय तहका प्रमुखलगायत जनप्रतिनिधिमा कोरोना संक्रमण बढ्दै गएको हो । हालसम्म संक्रमित हुनेमा स्थानीय तहका चार प्रमुख रहेका छन् । स्थानीय जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण हुँदा पालिका तथा वडा कार्यालयबाट नियमित प्रवाह भइरहेका सेवा प्रभावित बनिरहेका छन् ।

“जनप्रतिनिधिहरु पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी जस्तै फ्रन्टलाइनमा खट्नुहुन्छ, उहाँहरुलाई स्वास्थ्य–सुरक्षाको उच्च जोखिम हुनु स्वाभाविक हो, तर पनि सजगता अपरिहार्य छ नै”, कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार यसअघि स्थानीय तहका करीब १२ वडा जनप्रतिनिधिमा संक्रमण देखिइसकेको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सोमबार संक्रमण पुष्टि भएपछि मंगलबारदेखि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द गरिएको छ । सहायक प्रजिअ लक्ष्मीदेवी होमागाईँले सोमबार नै विज्ञप्तिमार्फत प्रजिअलगायत केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेकको सेवा यही कात्तिक २४ गतेसम्मका लागि बन्द गरिएको उल्लेख गरेकी छन् ।

यसैबीच काभ्रेपलाञ्चोकमा सोमबारसम्म कूल संक्रमितको सङ्ख्या एक हजार ७ सय ७५ पुगेको छ । यसमध्ये ७० प्रतिशत अर्थात् एक हजार २ सय २६ कोरोनामुक्त भइसकेको पोष्टले जनाएको छ । हाल कोरोना सक्रिय संक्रमितमध्ये ४४ प्रतिशत अर्थात् २ सय २९ बनेपा नगरका हुन् । धुलिखेलमा १ सय १०, पनौतीमा ८२, पाँचखालमा २६, नमोबुद्धमा १६, मण्डनदेउपुरमा ३४, रोशी र बेथानचोकमा छ–छ, तेमालमा तीन तथा भुम्लु, महाभारत, खानीखोला र चौँरीदेउरालीमा एकएक संक्रमित छन् ।

हाल सक्रिय संक्रमितमध्ये अस्पताल आइसोलेसनमा ४९ र होम आइसोलेसनमा ४ सय ७९ उपचाररत रहेको पोष्टले जनाएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म १४ पुरुष र सात महिला गरी २१ को कोरोना संक्रमणका कारण मृत्यु छ । पोष्टका अनुसार २४ घण्टामा ४८ पुरुष र ४४ महिला गरी ९२ नयाँ कोरोना संक्रमित थपिएका हुन् ।