आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

सल्लाघारीमा “आठौँ भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार ” महोत्सव हुने

गोकर्णेश्वर खबर११ चैत्र २०८०, आईतवार १६:०५ मा प्रकाशित (१ महिना अघि) ११३ पाठक संख्या

भक्तपुर । भक्तपुरमा आठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ । पत्रकार सम्मेलन आयोजना गर्दै यही चैत २२ देखि बैशाख २ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिइएको हो ।
औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज ब्याण्डले संयुक्तरुपमा महोत्सवको आयोजना गरेको आयोजक संस्था औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताए । महोत्सव भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिन सम्म चल्नेछ ।
महोत्सवमा २०० भन्दा बढी स्टल रहने , औद्योगिक प्रदर्शनीमा विज्ञान प्रविधिको प्रदर्शनी, प्रविधिसम्बन्धी गतिविधि, कृषि तथा हस्तकलाका सामग्री, अटोमोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार लगायतको प्रदर्शनी हुने , महोत्सव अवलोकन गर्न ५ लाख भन्दा बढीको उपस्थिति रहने बताइएको छ । महोत्सवमा करिब १२ करोड रुपैयाँको कारोबार हुने आयोजक संस्थाका अध्यक्ष महतले बताए ।
मेलामा बिक्री गरिने सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा विद्यार्थी र ज्येष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिए।