आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

आज दसैंको पाँचौं दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै

गोकर्णेश्वर खबर५ कार्तिक २०७७, बुधबार ०६:३२ मा प्रकाशित (३ साल अघि) ४१६ पाठक संख्या

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड वडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ ।

घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ ।

त्यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने चलन छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।

अघिल्ला बर्षहरुमा देशभरका विभिन्न शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरुको घुईंचो लागे पनि यो बर्ष त्यस्तो छैन ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले सरकारले मन्दिरहरुमा नियमित पूजा बाहेक भक्तजनहरुका लागि सार्वजनिक पूजामा रोक लगाएको छ ।