आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

कांग्रेसको १४औँं महाधिवेशनः सभापतिका लागि आकाङ्क्षीको बढ्दै

गोकर्णेश्वर खबर३१ श्रावण २०७७, शनिबार ०७:०८ मा प्रकाशित (३ साल अघि) २४७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको आगामी फागुनमा हुने १४औँं महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिका आकाङ्क्षी सतहमा आउन थालेका छन् ।

कतिपय नेता साँच्चिकै निर्वाचनको प्रतिस्पर्धामा उत्रने तयारीमा छन् भने केही नेता चर्चामा आउन पनि सभापतिको उम्मेदवारको दाबी प्रस्तुत गर्दैछन् । स्वाभाविक प्रतिस्पर्धी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल देखिएका छन् ।

उनिहरु १३औँ महाधिवेशनका मुख्य प्रतिस्पर्धी थिए । त्यस्तै सभापतिका अर्का प्रतिस्पर्धी कृष्णप्रसाद सिटौलाले १४औँ महाधिवेशनमा पनि निरन्तरता दिने सम्भावना छ । त्यसैले १३औँ महाधिवेशनकै तीन प्रतिस्पर्धा अहिले सभापति बन्ने दौडमा लाग्नु अनौठो नभएको कांग्रेसभित्र विश्लेषण छ ।

पछिल्लो पुस्ताको हिसाबले १४औँ महाधिवेशनमा सभापति पदको चर्चामा रहेका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहको नाम अग्र पङ्क्तिमा छ । उनिहरू दुवै नेताको पारिवारिक इतिहास गौरवपूर्ण छ । उपसभापति विमलेन्द्र निधि तत्कालीन कांग्रेस महामन्त्री महेन्द्रनारायण निधिका छोरा हुन् । उनले पार्टीका विभिन्न पदमा बसेर नेतृत्व प्रदान गरिसकेका छन् ।

अर्कातिर प्रकाशमान सिंह पूर्वमहामन्त्री छन् । छयालीस सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह र महिला नेत्री मङ्गलादेवी सिंहका छोरा हुन् । उनले आफू पार्टी सभापतिको दाबेदार भएको बताउँदै आएका छन् ।

बीपी पुत्र एवं वर्तमान कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले त शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न सक्ने एकमात्र उम्मेदवार आफू भएको दाबी गर्दै आएका छन् । कोइराला परिवारका नेतात्रय डा शेखर कोइराला, डा शशाङ्क कोइराला र सुजाता कोइरालामध्ये एक जनाले सभापतिको उम्मेदवारी दिन सक्ने विश्लेषण छ ।

कांग्रेसमा सभापति उठ्नेहरूको उच्च चर्चासँगै विधिमा पनि प्रश्न उठेकोे छ । कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालको विश्लेषण छ, ‘शेरबहादुर देउवाले अहिले आएर विभागहरू गठन गर्नुको मुख्य कारण नै आफ्नो पक्षमा महाधिवेशनको परिणाम ल्याउने चाल हो । महासमितिले पारित गरेको विधानलाई बेवास्ता गर्दै २८ वटा विभाग थप्नुको अरू कारण केही छैन ।’ उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।