आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

काठमाडौं उपत्यकामा १५७३ जनामा कोरोना संक्रमणः टोलटोलमा ‘सिल’ प्रशासनमा ‘सटडाउन’

गोकर्णेश्वर खबर३० श्रावण २०७७, शुक्रबार ०६:३५ मा प्रकाशित (३ साल अघि) ४१२ पाठक संख्या

काठमाडौं, ३० साउन । काठमाडौं उपत्यकामा हालसम्म १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १२७२ जना,ललितपुरमा १९० जना र भक्तपुरमा १११ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बिहीबार थपिएका १२७ जना संक्रमित समेत गरी हालसम्म उपत्यकामा १५७३ जना कोरोना संक्रमति पुगेका हुन् ।

बिहीबार काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना संक्रमित थपिएका थिए ।उपत्यकामा पछिल्लो समय लगातार कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गएको छ । यस्तै उपत्यकामा बिभिन्न क्षेत्रमा कोरोना संक्रमित फेला परेपछि सिल गरिएका छन् ।

जोरबिजोर रुपमा सञ्चालन भैरहे पनि सार्वजनिक सवारीमा कोरोना संक्रमणको जोखिम उच्च देखिन्छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सेवाहरु सटडाउनको निर्णय गरेका छन् ।

पछिल्लो समय उपत्यकाका स्थानीय तहहरु पनि कोरोना संक्रमण फैलिरहेका प्रति चिन्तित देखिएका छन् । हालै उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिन नदिन भन्दै सुझावसहित मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो भने काठमाडौं महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह रोकेको जनाएको छ । यस्तै वडावडामा संक्रमित देखिएका स्थानहरु सिल गर्ने क्रम पनि जारी राखेका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।