आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

फेरि नेकपामा अर्को नियुक्ति लफडा

गोकर्णेश्वर खबर२१ श्रावण २०७७, बुधबार ०६:४३ मा प्रकाशित (३ साल अघि) ३१२ पाठक संख्या

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न बसेको शिर्ष नेताहरुको बैठकमा सरकारी नियुक्तिलाई लिएर अर्को विवाद शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्ति गरिएको विषयलाई लिएर विवाद भएको हो ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी विवादित व्यक्तिलाई नियुक्ति किन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको नेकपा स्रोतले जनाएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्न बसेको बैठकको शुरुमै वरिष्ठ नेता खनालले भट्टको नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि अध्यक्ष दाहालले समेत प्रधानमन्त्री ओलीसँग भट्ट नियुक्तिको विषयमा प्रश्न उठाएका थिए ।

‘पार्टीमा छलफल नै नगरी किन विवादित व्यक्तिलाई नियुक्ति गर्नुभयो ?’ प्रश्न गर्दै दाहालले भने, ‘यस्ता बिषयमा हामीसंग किन सल्लाह हुदैन ? पार्टीमा परामर्श नै नगरी यस्तो किन गर्नुपर्यो ? स्वेच्छाचारी रुपमा काम गरेकै कारण पार्टी भित्र विवाद भईरहेको आक्रोश दाहालले पोखेपछि प्रधानमन्त्री ओलीले अब पार्टीभित्र परामर्श गरिने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ । पार्टीभित्रको सल्लाह, सुझाव र परामर्शमै अब यस्ता नियुक्ति गरिने प्रतिबद्धता ओलीले व्यक्ति गरेपछि बैठक कक्षको वातावरण केही शान्त भएको थियो ।

भट्टलाई सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो । बैठकमा अध्यक्षद्धय ओली र दाहाल, वरिष्ठ नेता खनालका साथै संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागि थिए ।

विगत तीन दिनदेखी सहमती जुटना शुरु भएको बैठक बिनानिष्कर्ष टुंगिरहेको छ । मंगलबारको बैठकमा समेत ओली र दाहाल आ–आफ्नै अडानमा अडिग रहेकाले सहमती जुटन सकेन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।