आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

नेकपा विवादः दुईहप्ते ‘वार्ता’ जहाँको तहीं

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार ०७:०२ मा प्रकाशित (३ साल अघि) ३२७ पाठक संख्या

काठमाडौं । सत्तारूढ नेकपाको दुईहप्ते ‘वार्ता–वि श्राम’ जहाँको तहीं पुगेको छ ।

ओली दुवै पद नछाड्ने, दाहाल–नेपाल छोडाएरै छाड्ने अडानमा छन् । विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बिहीबार पनि वार्तामा बसे । साथमा वरिष्ठ नेता माधव नेपालसमेत राखिए । तर, दुवै पक्ष पुरानै अडानमा अड्किए ।

स्रोतका अनुसार बिहीबारको बैठकमा एउटा सकारात्मक संकेत भने मिलेको छ, शुक्रबार स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत सामेल हुने । भदौ पहिलो साता केन्द्रीय समितिले बैठक बोलाउने र विवादलाई त्यसमा लग्ने । ‘अब स्थायी समिति बैठकले समसामायिक केही प्रस्ताव मात्र पारित गर्नेछ । प्रधानमन्त्रीको राजीनामा, सरकार र पार्टी कामको समीक्षालगायत सबै विषय अर्को महिना हुने केन्द्रीय समितिमा लगिने भएको छ’, एक स्थायी समिति सदस्यले भने ।

स्थायी समिति बैठक बसेर केन्द्रीय समिति बोलाउनेमा प्रधानमन्त्री ओली पनि बिहीबारको छलफलमा सकारात्मक देखिएको दाहाल–नेपाल समूहका नेताहरूको भनाइ छ । ‘प्रधानमन्त्री पनि बैठकमै फेस गर्छु भन्नेमा आइपुग्नु भएको छ,’ उक्त समूहका एक स्थायी समिति सदस्यले अन्नपूर्णसँग भने, ‘अब विषय सबै केन्द्रीय समितिमा जान्छन् । केन्द्रीय समिति सार्वभौम सम्पन्न निकाय भएकाले त्यही छलफल हुन्छ र निर्णय आउँछ ।’

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दाहाल र नेपालले एकै स्वरमा प्रधानमन्त्री कूटनीतिक र राजनीतिक रूपमा पनि असफल भइसकेको र अब पनि निरन्तरता दिँदा त्यसले दीर्घकालीन असर पार्टी र सरकारलाई नै पुग्ने भन्दै ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए । उनीहरूले ओलीलाई ‘तपाईंबाट पार्टी र देश दुवै चलेन, अब चल्दैन पनि, लामो समय देश र पार्टीलाई बन्धक नबनाउनुहोस्, अध्यक्ष रहनुहोस्, प्रधानमन्त्रीबाट भने जसरी हुन्छ राजीनामा दिनुहोस्’ भनेर आग्रह गरेका थिए ।

तर ओलीले दाहाल र नेपाललाई तपाईंहरूसँग छलफलका लागि मेरो राजीनामाबाहेक अन्य विषय नै छैन ? भन्दै प्रतिप्रश्न गरेका थिए । ओलीले राजीनामा त आफूले दिँदै नदिने भन्दै आफ्नो पुरानै अडानलाई दोहोर्‍याएका थिए ।

‘उहाँ (प्रधानमन्त्री) को अडान पनि आफ्नै छ । राजीनामा दिन्नँ, सकेको गर्नुहोस् भन्ने कुरामै प्रधानमन्त्री अडिइरहनु भएको छ, कुरो त्यही मिलेको छैन,’ छलफल पछि नेताहरूको बिफ्रिङ सुनेका एक सचिवालय सदस्यले अन्नपूर्णसँग भने । शुक्रबारको स्थायी समिति बैठक अगाडि बिहान दुई अध्यक्षका बीचमा पुनः छलफल पनि हुनेछ ।

नेकपा संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्बाङले दुई अध्यक्षका बीचमा बिहान ९ बजे बालुवाटारमा छलफलका लागि समय तय भएको बताए । ‘उहाहरू (दुई अध्यक्ष) बीच बिहान छलफल हुन्छ । त्यसपछि अब कसरी जाने भन्ने विषयमा निष्कर्ष आउन सक्छ,’ नेम्बाङले अन्नपूर्णसँग भने ।

१० असारबाट जारी स्थायी समिति बैठक १८ असारदेखि शुक्रबारसम्मलाई पटकपटक गरी स्थगन हुँदै आएको थियो । १६ असारको स्थायी समिति बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद ओलीले स्वेच्छाचारी ढंगले चलाएको भन्दै अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले ओलीलाई दुवै पदबाट राजीनामा दिन आग्रह गरेका थिए ।

त्यही अडान दाहाल र नेपालले बिहीबार ओलीसँगको छलफलमा पुनः दोहोर्‍याएपछि नेकपाभित्रको विवाद जहाँको त्यही पुगेर फेरि अड्किएको छ । तीन नेताहरूका बीचको कुराकानी ठोस सहमतिमा पुग्न नसकेपछि दुई अध्यक्षले मात्र पनि छुट्ट केहीबेर छलफल गरेका थिए । उक्त छलफलमा भने महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । तर त्यहाँ पनि अडान दुवैका आ–आफ्नै खालका थिए ।

पार्टीभित्र एजेन्डामा सहमति जुट्न नसके पनि शुक्रबारको स्थायी समितिको बैठक भने जारी रहने दुई अध्यक्षसँग बिहीबारको छलफलमा सहभागी भएका महासचिव विष्णु पौडेलले बताए । ‘उहाँहरू (ओली, दाहाल र नेपाल) बीच छलफल भयो, सहमति जुट्न सकिरहेको छैन ।

तैपनि छलफलबाटै सहमति खोजी गर्न नेताहरू तयार देखिनु नै भएको छ। शुक्रबारको स्थायी समिति बैठक आयोजना गर्ने समझदारी भएको छ, बैठक बस्छ,’ पौडेलले भने ।

विगत झन्डै दुई सातायता एक्लाएक्लै र कहिले सहयोगी नेतासमेत साथमा लिएर ओली र दाहालले छलफल गर्दै आएका थिए । बुधबार ओली र दाहालका बीचमा वरिष्ठ नेता नेपालसहित छलफल गर्ने समझदारी भएपछि बिहीबार नेपाल पनि सहभागी भएका थिए । तर उक्त छलफल पनि कुनै ठोस निष्कर्षमा नपुगेपछि दाहाल निवासतर्फ र वरिष्ठ नेता नेपाल पार्टी कार्यालय धुम्बाराही पुगेका थिए । धुम्बाराहीमा नेता नेपालले उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलसँग छलफल गरेका थिए । पोखरेल र नेपालबीच पार्टी विवाद समाधान गर्ने विषयमै केन्द्रित रहेर झन्डै एक घण्टा छलफल भएको थियो ।

ओलीसँग छलफल अघि दाहाल र नेपालले दाहाल निवास खुमलटारमा सचिवालयका बहुमत नेताहरू वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा (बादल) सँग सामूहिक छलफल गरेर बालुवाटार पुगेका थिए ।

बिहानको छलफलमा नेताहरूले विवादलाई अब पनि लम्ब्याइराख्न नहुने भन्दै पार्टीको विधानको व्यवस्थाअनुसार सहमति नजुटे पार्टीको विधि र पद्धतिअनुसार बहुमत, अल्पमतबाटै निर्णयमा जानुपर्ने धारणा राखेका थिए ।

ओलीले बालुवाटार छलफलमा आफू स्थायी समिति पनि आवश्यक परे फेस गरेर जान तयार रहेको धारणा राखेको एक नेताले वताए । ‘प्रधानमन्त्री आफ्नै स्वभावअनुसार’ बैठकमा प्रस्तुत हुनुभयो । उहाँमा कुनै लचकताको भाव देखिएको छैन । आफ्नै अडानमा देखिनु भएको थियो। स्थायी कमिटी फेस गर्छु भन्नुभयो,’ ओलीसँगको छलफलपछि दाहाल निवास खुमलटारमा भेला भएका नेताहरूलाई दाहालले गरेको बिफ्रिङ उद्धृत गर्दै एक नेताले भने । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।