आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

देउसी, भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने

गोकर्णेश्वर खबर२४ कार्तिक २०८०, शुक्रबार १६:२१ मा प्रकाशित (५ महिना अघि) ३१ पाठक संख्या

हेटौँडा, कात्तिक २४ गते । तिहारको समयमा मकवानपुरमा देउसी, भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले देउसी, भैलोलगायत सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेपछि सञ्चालन नगर्न भन्दै अनिवार्य रुपमा बन्द गर्न आग्रह गरेको हो ।

मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चाडपर्वको समयमा आफूले खुसियाली मनाउँदा, मनारेञ्जन गर्दा अन्य व्यक्ति, टोल, छिमेकी, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन आग्रह गर्नुभएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुइँचम्पा, आतिशवाजीलगायतका प्रज्वलनशील पदार्थ प्रयोग, भण्डारण, बिक्री, वितरण, ओसारपसार गर्ने गराउने कार्यसमेत नगर्न आग्रह गरिएको छ ।

साथै जुवा, तास खेल्ने खेलाउने जस्ता कानुनले निषेध गरेका क्रियाकलाप नगर्न, नगराउन भन्दै विज्ञप्तिमा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्नेलगायतका समाजमा अशान्ति सिर्जना गर्ने नगर्न नगराउन भनिएको छ ।

यस्तै, प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा नेपाल सरकारले पूर्णरुपमा रोक लगाएकोले सो कार्य नगर्न नगराउन आग्रह गर्दै विज्ञप्तिमार्फत कानुन विपरीतका गतिविधि, क्रियाकलाप सञ्चालन गर्ने र गराइएको पाइएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।