आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

मधेश प्रदेशले माग्यो छुट्टै प्रहरी प्रशासन, नपाए आन्दोलन गर्ने चेतावनी

गोकर्णेश्वर खबर२२ कार्तिक २०८०, बुधबार १९:०१ मा प्रकाशित (५ महिना अघि) ९४ पाठक संख्या

धनुषा, कात्तिक २२ / मधेश प्रदेश सरकारले आफ्नो छुट्टै प्रहरी प्रशासनको माग गर्दै संघीय सरकारको ध्यानाकर्षण गराउने भएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले यसका लागि प्रधानमन्त्रीलाई बिहीबार ज्ञापनपत्र बुझाउने जानकारी दिएका छन्।

मुख्यमन्त्री यादवले प्रदेशको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक काम गर्न नसकेको आज पत्रकार सम्मेलनमा बताए। उनले निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिने अल्टिमेटम दिँदै भोलि बिहीबार ज्ञापनपत्र बुझाउन लागिएको बताए।

आफूहरुको मागमा प्रतिपक्षी दलको पनि साथ रहेको भन्दै एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मुख्यमन्त्री यादवले चेतावनी दिए।

‘संघ सरकारविरुद्ध अबको लडाइँ वारपारको हुनेछ। ६ वर्षसम्म आश्वासन कुरेर बस्यौं। अब प्रहरी–प्रशासन र कर्मचारी बेगर प्रदेश सरकार सञ्चालन गर्न कठिन भइसक्यो। अधिकार नदिए वारपारको आन्दोलन हुनेछ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले भने।

उनले संघीय राजधानी र जनकपुरमा मात्रै होइन, गाउँ गाउँमा आन्दोलन हुने उल्लेख गरे।

‘मुलुकमा संघीयता आएको ८ वर्ष भयो। ६ वर्ष त प्रदेश सरकारकै भयो,’ मुख्यमन्त्री यादवले भने,‘संघीयता र प्रदेश सरकारलाई सवल र अधिकारसम्पन्न बनाउने यो पर्याप्त समय हो। तर, संघीय सरकारले सबै अधिकार आफूसँग राखेर प्रदेश सरकारलाई चल्न दिएको छैन।’