आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

सत्ता साझेदार दलको सातै प्रदेशमा भागबण्डा

गोकर्णेश्वर खबर२५ पुष २०७९, सोमबार ०८:२७ मा प्रकाशित (१ साल अघि) ६६ पाठक संख्या

२५ पुष, काठमाडौं । सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख–उपसभामुखको भागबण्डा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बैठक बसेर एमाले, माओवादी, राप्रपा, जनमतले बाँडफाँट गरेका हुन्, जसमा नागरिक उन्मुक्तिलाई पनि समावेश गराउन खोजिएको छ ।

सहमतिअनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेले तथा कर्णालीमा माओवादीले पाँचै वर्ष सरकारको नेतृत्व गर्नेछन् । वाग्मतीमा सुरुमा माओवादीले र सुदूरपश्चिममा सुरुमा एमालेले सरकार चलाउने र अढाई वर्षपछि अदलबदल गर्ने सहमति भएको छ ।

मधेसमा सुरुमा जसपा र पछि जनमतले सरकारको नेतृत्व पाउने भएका छन् ।

वाग्मतीमा माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल मुख्यमन्त्री बन्दै छन् । एमालेका जगन्नाथ थपलियाको पालो भने अढाई वर्षपछि आउनेछ । वाग्मतीमा सभामुख राप्रपा र उपसभामुख एमालेले पाएका छन् ।

गण्डकीमा एमाले संसदीय दल नेता खगराज अधिकारी पाँचै वर्षका लागि मुख्यमन्त्री बन्ने भएका छन् । सभामुख माओवादी र उपसभामुख एमालेबाट चुनिनेछन् ।

लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री हुनेछन् । सभामुख माओवादी र उपसभामुख राप्रपाबाट छान्ने सहमति भएको छ ।

कर्णालीमा माओवादीका राजकुमार शर्मा पाँचै वर्षका लागि मुख्यमन्त्री हुँदै छन् । यहाँ सभामुख एमाले र उपसभामुख माओवादीबाट हुनेछन् ।

सुदूरपश्चिममा सरकारको नेतृत्व पहिलो चरणमा एमालेका राजेन्द्रबहादुर रावलले गर्ने निश्चित भएको छ । माओवादीका खगराज भट्ट संसदीय दलका नेता छन् ।

प्रदेश १ मा मुख्यमन्त्री नियुक्त भइसकेका छन् भने वाग्मती र गण्डकी प्रदेशमा सोमबार नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् । त्यहाँ प्रदेश प्रमुखले सरकारमा दाबी प्रस्तुत गर्न दिएको समयसीमा दिउँसो ४ बजे सकिँदै छ ।