आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

मधेशका मुख्यमन्त्री यादवले पाए दोश्रो पटक पनि सिंगो सदनको मत

गोकर्णेश्वर खबर३० जेष्ठ २०८०, मंगलवार २०:५० मा प्रकाशित (१0 महिना अघि) ४६ पाठक संख्या

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोश्रो पटक सिंगो सदनमा उपस्थित सांसदको विश्वासको मत पाएका छन् ।

नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि आज ३० औं दिन आकस्मिक रुपमा उनले विश्वासका मत लिएका हुन् ।

उनलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

१०७ सदस्यीय प्रदेश सभामा उनको विश्वासको मतको पक्षमा मतदानमा भाग लिएका सबैको १०३ मत परेको छ । बैठकमा १०५ जना उपस्थित रहेकोमा सभामुख र उपसभामुखले मत हालेनन् ।

यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेशसभामा सिंगो मत पाएका थिए ।

पुस २७ गते मधेश प्रदेश सभाको ठूलो दल नेकपा एमाले सहितका दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिन प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

तर मधेश सरकारले स्पष्ट बहुमत कायमै रहेको भन्दै विश्वासको मत लिन पर्ने मनस्थितिमा थिएन । विश्वासको मत नलिए कानुनी अड्चन आउन सक्ने देखेपछि आज मुख्यमन्त्री सरोज यादवले प्रदेश सभाको आकस्मिक रुपमा विश्वासको मत लिने बिहान मात्र निर्णय गरेका थिए ।

जसको लागि प्रदेशसभा सचिवालयले बिहान ११ बजे प्रदेश सांसदहरुलाई उपस्थितिका लागि साँझ ५ बजे विशेष बैठक भनेर एसएमएस मार्फत जानकारी पठाएको थियो ।

प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।

विश्वासको मत लिंदै मुख्यमन्त्री यादवले आगामी असार १ गते ल्याउन लागेको बजेट जनतामुखी हुने प्रतिबद्धता जनाएका छन् ।

उनले सरकारमाथि गरेको विश्वासले उर्जा बढेको भन्दै कसैलाई भेदभाव र काखापाखा नगरी अघि बढ्ने बताए ।

संयन्त्र बनाएर प्रदेशलाई भ्रष्टाचार मुक्त गर्ने आश्वासन व्यक्त गर्दै उनले विकास अघि बढाउने बताए ।