आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

कोरोना परीक्षण रोकियो

गोकर्णेश्वर खबर११ जेष्ठ २०७८, मंगलवार १३:२२ मा प्रकाशित (२ साल अघि) ५४४ पाठक संख्या

वीरगञ्ज । भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ ।

लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ ।

दैनिक भारतबाट सो नाका भएर २५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेको भए पनि किटको अभावमा कोरोना परीक्षण हुन नसकेको हेल्थ डेस्कका इन्चार्ज सैमुला अन्सारीले राससलाई जानकारी दिए ।

उनले भने, “किटको अभावमा अहिले सामान्य ज्वरो मात्र नाप्ने गरिन्छ ।” उनले यदि कोरोनाको लक्षण देखिएमा जुन जिल्लाको बासिन्दा हुन्छ त्यही जिल्लामा उपचारको लागि पठाउने गरेको बताए ।

महानगरपालिकाले भन्सार क्षेत्रमा स्थापना गरेको हेल्थ डेस्कमा एन्टिजेन किटको अभाव रहेको जनाएको छ । महानगरपालिकाका प्रमुख बिजय सरावगीले जिल्ला जनस्वास्थ्य कार्यालयले हालसम्म सो किट उपलब्ध नगराउँदा समस्या देखिएको बताए ।

पिसिआर परीक्षणसमेत हुन नसकेको बताइएको छ । सो हेल्थ डेस्कमा स्वाब सङ्कलनसमेत बन्द छ । त्यस्तै भारतबाट दैनिक १० देखि १५ वटा पिकअप गाडीमा तरकारी आए पनि परीक्षण हुनसकेको छैन ।

पर्सामा कोरोना संक्रमितको सङ्ख्या लगातार घट्ने क्रममा रहेको छ । वैशाखमा उत्कर्षमा पुगेको कोरोना संक्रमण दर जेठको पहिलो सातादेखि घट्दै गइरहेको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी कडाई गरेपछि कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासअनुसार सोमबारसम्म पर्साका १९, बाराका १२, सर्लाहीमा नौ, रौतहटका दुई र धनुषाका एक गरी ४३ जना सङ्क्रमण पुष्टि भएको छ ।

नौ देखि ७४ वर्ष उमेरसम्मका सङ्क्रमित रहेको उनीहरूको सिटी भ्यालु १५ देखि ३५.२ सम्म रहेको छ ।