आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

कोरोना उपचारमा सरकारी निर्णय : ‘बिरामीलाई भन्दा अस्पताललाई फाइदा’

गोकर्णेश्वर खबर१३ कार्तिक २०७७, बिहीबार १६:४० मा प्रकाशित (३ साल अघि) ४४५ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा सरकारको पछिल्लो निर्णयले अस्पतालमा बिरामीको उपचारमा केही सहज भएको छ । नागरिकलाई आफै उपचार गराउने सरकारले लिएको पछिल्लो निर्णयका कारण अस्पतालमा बिरामीहरुलाई उपचार गर्न सहज हुन थालेको अस्पतालहरुले जनाएका छन् ।

सरकारले कोरोना संक्रमण भएकालाई वर्गीकरण गरेर उपचार गर्ने निर्णय गरेको थियो । संक्रमितलाई सरकारले उपचार नगर्ने घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो । त्यसपछि सरकारले उपचार गर्न नागरिकको वर्गीकरण गरेको हो ।

सरकारले गरेको यो निर्णयले अस्पतालमा बिरामीको चाप कम हुन थालेको त्रिवि शिक्षण अस्पतालको कोरोना फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए । सुरुवाती समयमा अस्पतालमा धेरै बिरामी आउने र अत्यावश्यक बिरामीले उचित सेवा पाउन समस्या भएपनि सरकारले उपचारको वर्गीकरण गरेपछि बिरामीको सन्तुलन मिलेको उनले बताए ।

डा. थपलियाले अहिले धेरै बिरामीहरु अस्पतालको आवश्यक पर्ने अवस्थामा मात्र अस्पताल आउने गरेको उनले बताए । अहिले अस्पतालमा बिरामीले आइसियू र भेन्टिलेटर पाउन पहिलेको जस्तो समस्या नभएको उनले बताए ।

कोरोना भाइरसले सबैभन्दा बढी क्षति भएको युरोपका देशहरुमा पछिल्लो समय भाइरसको संक्रमणदर र कोरोनाको कारण मृत्यु हुनेको दर बढी रहेको छ । सुरुवाती समयमा पनि बढी क्षती भएको युरोपमा पुनः भयावह अवस्था आउने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अब आउने अवस्था पहिलेको भन्दा धेरै खतरनाक हुनेसमेत संगठनले चेतावनी दिएको छ । तर, युरोपभर अहिले कोरोना नियन्त्रणका लागि सरकारले गर्ने बन्दको जनस्तरबाट विरोध भइरहेको छ ।

जनतालाई बन्धक बनाएर राख्ने र कोरोनाको नाममा मेडिकल माफियाहरुले व्यापार गर्ने आरोप लगाउँदै अहिले विश्वर जनाताहरु विरोधमा उत्रिरहेका छन् । तर, नेपालमा भने सरकारले कोरोना भाइरसको संक्रमण र सचेतना सामग्रीलाई क्रमशः कम गराउँदै लगेको छ ।

सरकारले सबै तयारी नागरिक आफैले गर्न भनेको छ । कोरोना भाइरस सुरु भएपछि सरकारले गराउँदै आएको दैनिक जानकारीसमेत नगराउने भएको छ ।

सुरुवाती समयमा कोरोना संक्रमण केही मानिसमा भेटिएको बेला नियन्त्रणको लागि लकडाउन गरेको सरकारले दैनिक ६ हजार संक्रमण भेटिएको अवस्थामा भने नागरिकलाई आफै उपचार गर्न भन्दै पन्छिएको छ ।