आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

‘जनताको आग्रहमा दैनिक कोरोना अपडेट रोकिएको हो’- डा. कार्की

गोकर्णेश्वर खबर१३ कार्तिक २०७७, बिहीबार १५:४६ मा प्रकाशित (३ साल अघि) ५२० पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ रोकेको छ । मन्त्रालयका जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. खेम कार्कीले सरकारले कोरोना सम्बन्धी दैनिक जानकारी नागरिककै आग्रहमा रोकिएको बताएका छन् ।

उनले दैनिक रुपमा गरिने लाइभ जानकारी रोक्न नागरिकको आग्रहअनुसार यस्तो निर्णय भएको बताए । दैनिक जानकारी रोकेर हप्तामा दुई पटक मात्र लाइभ जानकारी दिए पनि अन्य माध्यमबाट भने दैनिक दिने उनले बताए ।

दैनिक कोरोना संक्रमण र मृत्युको खबरले नागरिकमा त्रास बढेको उनले बताए । उनले सरकार कोरोना संक्रमितको उपचारमा दृढ रहेको बताएका छन् ।

डा. कार्कीले सरकारले संक्रमितलाई उपचार गर्ने नियम यथावत रहेको बताए । बाहिर सरकारले नागरिकलाई उपचार नगर्ने भन्ने हल्ला सत्य नभएको उनले बताए ।

उनले कोरोना महामारीको समयमा सरकारले सक्नेले उपचार गर्दा नसक्नेका लागि सहयोग हुने उदेश्यले यस्तो निर्णय गरे पनि त्यसको गलत प्रचार भएको बताए ।

२००७ सालपछि नेपालमा सरकारलाई गाली गर्ने प्रवृत्ति हावी भएको बताउँदै उनले अहिले जे गरेपनि सरकारलाई गाली गरेर आनन्द मान्नेहरुको बाक्लो जमात रहेको बताए । कोरोनाको कारण आर्थिक रुपमा सरकार पनि समस्या पर्ने अवस्था र नागरिक पनि सरकारप्रति उत्तरदायी बन्नुपर्ने उनले बताए ।

सरकारले प्रत्येक नागरिकको मुखमा माक्स लगाउन, साबुन पानीले हात धुन र सबैलाई २ मिटर दूरीमा राख्न नसक्ने र मानिसले अहिले यस्ता खालको उपेक्षा राख्ने गरेको बताए ।