आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

उपत्यकामा निषेधाज्ञाः होम डेलिभरी सेवा र टेकअवे खुला

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार ०६:२९ मा प्रकाशित (३ साल अघि) ४३० पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा ३ भदौबाट जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै एक साता थप गरिएको छ ।

थप गरिएको निषेधाज्ञामा यसअघि बन्द गरिएको होम डेलिभरी सेवा र टेकअवे खुलाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको बैठकले जारी निषेधाज्ञालाई २४ भदौको राति १२ बजेसम्म लागु गर्ने निर्णय गरेको हो ।

बुधबारबाट थप गरिएको निषेधाज्ञाको अवधिभरि खाद्यवस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु बिक्री गर्ने पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ । औषधि र पानीको पसल भने दिनभर खोल्न सकिनेछ ।

यस्तै, यसअघि दैनिक उपभोग्य वस्तुको होम डेलिभरी सेवा र टेकअवेलाई बन्द गराइएकामा अब पिसिआर रिपोर्ट नेगेटिभ भएको व्यक्तिले सो सेवा दिन सक्ने व्यवस्था गरिएको छ । यसरी सेवा दिने व्यक्तिले उनीहरूले भेटेका व्यक्तिहरूको अभिलेख राख्नुपर्नेछ । त्यस्तै, विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न पाइनेछ ।

यसैगरी छोटो दुरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ । निषेधाज्ञामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणको काम पनि सञ्चालन गर्न सकिनेछ । यसरी आयोजना सञ्चालन गर्दा कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ ।

यस्तै, अनलाइन कक्षा सञ्चालनका लागि समेत अनुमति दिइएको छ । यसैगरी बैंकलगायतका नियमित सेवा प्रदायकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था गरिएको छ । यसैगरी, अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पिसिआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि अनिवार्य गरिएको छ ।

हवाई उडानबाट विदेश जानेहरूले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जान सवारी साधन प्रयोग गर्न सक्नेछन् । तर, पिसिआर परीक्षण सुविधा नभएका स्थानबाट आउनेहरूले काठमाडौंमा सुरक्षित रूपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेस गर्नु पर्नेछ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सरोकारवाला सबै पक्षसँग छलफल गरेर गृह मन्त्रालयमा निषेधाज्ञासम्बन्धी राय पठाएकामा गृहले राय अनुमोदन गरेपछि जारी निषेधाज्ञालाई खुकुलो बनाइएको हो । (राजधानी दैनिक)