आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी

गोकर्णेश्वर खबर१० भाद्र २०७७, बुधबार ०७:१८ मा प्रकाशित (३ साल अघि) ४९३ पाठक संख्या

काठमाडौं । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउनेबारे छलफल भएको हो । यद्यपि निर्णय भने भइसकेको छैन । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले थप एक साता निषेधाज्ञा जारी राख्ने विषयमा छलफल भएको तर निर्णय बुधबार मात्र हुने जानकारी दिए ।

उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो । ‘कोरोना सङ्क्रमणको महामारी दिन प्रतिदिन भयावह बन्दै गएकाले अहिलेको अवस्थामा एक सातासम्म जारी राख्नुपर्ने देखियो,’ उनले भने, ‘यसअघिको निर्णयको समयावधि १० गते रातिसम्म भएकाले आज मङ्गलबार निर्णय हुन सकेन ।’

कोरोना सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथामका लागि यही ३ गते बुधबार राति १२ बजेबाट जारी निषेधाज्ञा १० गते बुधबार मध्यरातबाट सकिँदैछ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण भयावह बन्दै गएको भन्दै निषेधाज्ञा थप कडा पारिएको छ ।
निषेधाज्ञा थपिएसँगै सङ्क्रमितहरूका लागि आइसोलेसन सेन्टर बढाउन र प्रभावकारी ढङ्गले सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताइएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ