आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

काठमाडौंको अवस्था चिन्ताजनक, सबैभन्दा धेरै निधन बानेश्वर क्षेत्रमा !

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार २२:२९ मा प्रकाशित (३ साल अघि) ५५६ पाठक संख्या

काठमाडौं । पछिल्लो समय अन्य जिल्लाको तुलनामा काठमाडौ उपत्यकामा संक्रमितको संख्या बढेको छ । उपत्यकामा पनि काठमाडैमा नै संक्रमितको संख्या डरलाग्दो छ । काठमाडौं उपत्यकामा विहिवारसम्म करिव ३ हजार सक्रिय संक्रमित पुगिसकेका छन् । दिनहुँ झण्डै २ सयको संख्यामा नयाँ संक्रमित थपिन थालेका छन् । स्वास्थ्य मन्त्रालयले पनि पछिल्लो तथ्यांकले काठमाडौंको अवस्था अत्यन्तै चिन्तित बनेको बताएको छ ।

दिनहँ संक्रमित बढिरहँदा पनि किनमेल गर्ने ठाउँमा स्थानियको भिड उस्तै छ । माक्स लगायतका स्वास्थ्य जोगाउने उपाय लगाएका मानिस पनि कम देखिन्छन् । आइतवारसम्मको तथ्यांक हेर्ने हो भने उपत्यकाका तीन जिल्लामा २ हजार ९६५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा रहेका छन् । भक्तपुर र ललितपुरको तुलनामा काठमाडौं जिल्लामा जनसंख्या अत्याधिक रहेको छ ।

काठमाडौं महानगरपालिकामा कोरानोको स्तर भयानक रहेको छ । काठमाडौंमा मात्रै शनिवारसम्म १ हजार ६०६ जना संक्रमित फेला परेका छन् । ३२ वटा वडामध्ये दुई वडामा १ सय भन्दा बढि संक्रमित फेला परेका हुन् । वडा नम्बर ३२ कोटेश्वरमा १२३ र वडा नम्बर २ महाराजगञ्जमा ११९ जना संक्रमित छन् । शनिवारसम्म महानगरमा कोरोना संक्रमित ८ जनाको निधन भएको छ ।

काठमाडौं महानगरले तयार पारेको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै वडा नम्बर १० बानेश्वर क्षेत्रका छन । बानेश्वर क्षेत्रमा कोरोना संक्रमित ३ जनाको निधन भएको छ । त्यस बाहेक वडा नम्बर २७ महावौद्धमा २ जना, वडा नम्बर ४ बालुवाटारमा १ जना, वडा नम्बर १२ टेकुमा १ जना र वडा नम्बर २० भीमसेनस्थानमा १ जनाको निधन भएको महानगरले जनाएको छ ।

अहिले होम आइसोलेशनमा रहेका बिरामीको संख्या ४९७ रहेको छ । आइसोलेशनमा रहेका संक्रमितको सङख्या आठ हजार ७२४ रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या जम्मा १३ हजार १५५ रहेको छ । संस्थागत आइसोलेसनमा नौ हजार २१२ जना रहेका छन् । होम आइसोलेशनमा तीन हजार ९४३ जना छन् । आइसियुमा उपचाररत १३७ जना छन् । बाग्मती प्रदेशका १० जना भेन्टिलेटरमा छन् ।