आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

स्वास्थ्यकर्मीमा संक्रमण फैलन थालेपछि अस्पतालनै असुरक्षित बन्न थाल्यो

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार ०६:१० मा प्रकाशित (३ साल अघि) ३३७ पाठक संख्या

चितवन । चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण फैलन थालेपछि अस्पताल असुरक्षित बन्दै गएका छन् । जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

अस्पतालहरुमा संक्रमण फैलदै जाँदा अवस्था जटिल बन्दै गएको छ । हालसम्म जिल्लामा ३५२ जनामा संक्रमण देखिएको छ । तीमध्ये ५० भन्दा बढी त चिकित्सक र स्वास्थ्यकर्मी नै छन् । स्वास्थ्य कार्यालय चितवनका गीताञ्जलि ढकालका अनुसार यसै जिल्लामा घर भई यहाँका अस्पतालहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी ४१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी विपी कोइराला मोमोरियल क्यान्सर अस्पतालका १७, भरतपुर अस्पतालका १४, चिवतन मेडिकल कलेजमा एक, पुरानो मेडिकल कलेजका तीन जना छन् । त्यसैगरी रत्ननगर बकुलहर अस्पताल रत्ननगरका एक, सेन्ट्रल अस्पतालका दुई, मनकामना अस्पतालका एक, नारायणी सामुदायिक अस्पतालका दुई र अन्य साना अस्पताल एवं मेडिकलका तीन जना छन् ।

ढकालका अनुसार यहाँका अस्पतालमा काम गर्ने बाहिरी जिल्लाका आठभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । यो सङ्ख्या दैनिकरुपमा बढ्दो छ । अन्य रोग लिएर अस्पताल आएकाहरुको उपचारकै क्रममा कोरोनाको संक्रमण देखिएर मृत्यु समेत हुन थालेका छन् । अस्पतालमै रोग फैलिएर वा उनीहरुले समुदायबाट रोग ल्याएका हुन् भन्ने यकिन हुन सकेको छैन ।

जिल्लामा पछिल्लो दुई दिनयता मृत्युपछि दुई जनाको कोरोना संक्रमण पुष्टि भएको छ । ती दुवै जना मकवानपुरबाट आएका हुन् । उनीहरुमध्ये एक महिलालाई एपेण्डिसाइड र अर्का वृद्ध पुरुषलाई हर्निया भएको थियो । दुबै जनाको पुरानो मेडिकल कलेजमा उपचार गरिएको थियो । कलेजका निर्देशक डा मनोहर प्रधानका अनुसार अहिले अस्पतालमा उपचाररत दुई जनामा पनि संक्रमण देखिएको छ ।

यसअघि सोही कलेजमा उपचार गराइरहेका दुई जनामा संक्रमण देखिएपछि भरतपुर अस्पताल पठाइएको थियो । एक जना मृतकको नतिजा आउन बाँकी छ । अस्पतालका दुई चिकित्सक पनि संक्रमित भएका छन् । यससँगै ३० जना डाक्टरसहित ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी आइसोलेसनमा रहेको उनको भनाइ छ ।

सो अस्पतालमा भारत र सीमा क्षेत्रका बिरामी बढी आउँछन् । पछिल्लो समय अस्पतालको व्यवस्थापन राम्रो हुन नसक्दा पनि संक्रमण नियन्त्रणमा कठिन भएको उनले स्वीकार गरे । रोग अस्पतालमा फैलिएको आशंकामा बिरामी त्रसित भएका छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी समुदायबाटै रोग अस्पताल आएको अनुमान लगाउँछन् । अस्पतालहरुले उपचारमा विशेष सावधानी पुर्‍याउनु पर्ने उनको भनाइ छ ।

कोरोनाका विरामी छुट्याएर चिकित्सक र स्वास्थ्यकर्मी आलोपालो गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार उपचार गर्नु पर्ने उनले बताए । यसरी संक्रमण बढ्दै गएमा उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी नै नहुने उनको चिन्ता छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपाने कोरोना र अन्य बिरामी एकै ठाउँमा उपचार हुँदा समस्या आएको बताउँछन् । दुवैथरि बिरामी एकै ठाउँमा उपचार कठिन हुने उनको भनाइ छ । यससँगै दिर्घरोगीको मृत्यु हुन थालेको उनले बताए ।

चितवन मेडिकल कलेजमा एक चिकित्सकसहित १२ जना बिरामी संक्रमित भैसकेका छन् । सबै बिरामी एकै ठाउँमा आउँदा कोरोना भएको यकिन नहुने र उपचार गर्नेले कम तयारीमा नै उपचार गर्दा पनि रोग फैलन गएको उनी बताउँछन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी समुदायबाट अस्पतालमा आयो वा अस्पतालमा संक्रमण फैलिएको यकिन भन्न नसकिने बताउँछन् । अस्पतालहरुमा कोरोना भएका र नभएका दुबैको उपचार भैरहेको छ ।

तिवारीले कहीँ एउटै अस्पतालमा दुबैथरिका बिरामी उपचार गरेको र कहीँ नगरेको उदाहरण दिए । पहिले कोरोनाका सबै विरामी भरतपुर अस्पताल पठाइन्थ्यो । अहिले सरकारले जुन अस्पतालमा संक्रमण देखियो त्यहीँ उपचार निरन्तरता दिने जनाएसँगै जिल्लाका सरकारी र निजी अस्पताल एवं मेडिकल कलेजमा बिरामी उपचाररत छन् ।

जिल्लामा अहिले भरतपुर अस्पतालको भरतपुर कोभिड ­१९ प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा नमूना परीक्षण भैरहेको छ । संक्रमण फैलिएपछि अन्य रोगका बिरामी सकेसम्म अस्पताल जान छाडेका छन् । जानै पर्ने जटिल बिरामी मात्र अस्पताल जान थालेका छन् । रासस