आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

दलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न दिइएन

गोकर्णेश्वर खबर२२ श्रावण २०७७, बिहीबार ०६:३९ मा प्रकाशित (३ साल अघि) ३३३ पाठक संख्या

झापा, २२ साउन । दलितसँग विवाह गरेको भन्दै इलामको माई नगरपालिका–२ दानाबारीकी यामकला आचार्य विकले बुबाको अन्तिम संस्कार पनि परिवारसँगै गर्न पाइनन् । सोमबार राति निधन भएका बुबा चन्द्रप्रसादको किरिया परिवारसँगै बस्न माइती पक्षले नदिएपछि उनी छुट्टै बसेकी छिन् ।

यामकलाले १२ वर्षअघि दलित समुदायका रत्नबहादुर विश्वकर्मासँग प्रेम विवाह गरेकी थिइन् । उनलाई अहिलेसम्म माइतीले बोलाएको छैन । बुबाको दाहा संस्कारका लागि जाँदा पनि उनले अपमानित हुनुपर्‍यो ।

‘मैले बुबाको अंश मागेको होइन । जसरी हुन्छ गरिखान्छु । १२ वर्ष बोलाउनु भएन, तर अन्तिम संस्कार सबैसँग गर्न दिँदा के हुन्थ्यो ? दलितसँग बिहे गरेर मैले के बिगारें र !’ यामकलाले भनिन्, ‘बुबाको मुख पनि हेर्न दिइएन, अन्तिम संस्कार गर्ने त मेरो पनि अधिकार छ नि !’

यामकलाको घरबाट माइतीघर करिब तीन सय मिटर दूरीमा छ । बुबाको निधन भएको थाहा पाउनेबित्तिकै उनी रुँदै माइती पुगिन् । १२ वर्षपछि माइतीको आँगन टेकेकी उनलाई गाउँले र बहिनीले झम्टिए ।

‘म पुग्ने बित्तिकै गाउँकी लक्ष्मी दंगालले तँलाई बाँचुन्जेल चाहिएन, अहिले के हेर्न आइस् ? आँगन नटेक् भन्दै झपारिन्,’ यामकलाले भनिन्, ‘ठूलोबुबाको छोरी पारू त कुटुँलाझैं गरेर पाखुरा सुर्केर आई । अरू वेला त दलितसँग गएको भनेर बाटो हिँड्दा थुक्थे पनि ।’

यामकलाले घरमा मात्र होइन बुबाको अन्तिम संस्कारमा घाटमा समेत दलितसँग बिहे गरेकै कारण विभेद भोग्नुपर्‍यो । घरमा पुग्दा झपारिएकी उनी बुबाको मुख हेर्न र अन्तिम संस्कारमा सहभागी बन्न माईघाट पुगिन्, तर त्यहाँ पनि विभेद भयो ।

‘छेउमा जाने वातावरण नै थिएन । सबै आफन्त बुबाको छेउमा थिए । म पर अलग्गै बसें । बुबालाई दागबत्ती दिइन्जेल मलाई थाहा छ, त्यसपछि अचेत भएँ । मलाई किरिया माइतमा बस्न नदिने कुरा भएछ, त्यसैले घरमै जुठो बारिरहेकी छु,’ उनले भनिन् ।

मृत्युको अन्तिम संस्कारका वेला श्रद्धाञ्जलीसभा गरिएको थियो । त्यसक्रममा परिवारका सबै सदस्यको नाम लिइए पनि छोरी र ज्वाइँको नाम नलिइएको यामकलाको गुनासो छ । ‘म उहाँको सन्तान होइन र !’ उनले भनिन्, ‘यो हल्लाखल्ला भएपछि बिहान काकाले अरूका कुरामा नलाग् । कामपछि हामी मिलौँ भन्नुभयो । बुबाको अन्तिम संस्कारमा त नमिल्ने कामपछि मिल्लान् र ?’

यामकला माई नगरपालिकाकी उपप्रमुख विष्णुमाया रिमाल आचार्यकी भतिजी हुन् । त्यसैले उनको काकीसँग पनि दुखेसो छ । यद्यपि, उनीहरूको परिवार वर्षौँअघि नै छुट्टाछुट्टै बसिरहेका छन् । ‘काकी त कम्युनिस्ट पार्टीको नेता । उहाँ दलितका पक्षमा बोल्दै हिंडेको सुनेको थिएँ । तर, उहाँ र काकाले पनि केही भन्नु भएन,’ यामकलाले भनिन् ।

यामकलाका श्रीमान् रत्नले विभेद भयो भनेर सुनाउने ठाउँ पनि नभएको बताए । ‘काकी उपप्रमुख, उहाँकै नेतृत्वमा रहेको न्यायिक समितिमा गुनासो गर्ने होला । उहाँ नै घरको मान्छे भएपछि हामीले कसरी न्याय पाउँला,’ उनले भने ।

माई नगरपालिकाकी उपप्रमुख विष्णुमायाले आफ्नो परिवार वर्षौँअघि छुट्टिएको बताइन् । ‘जेठाजु २५ वर्षअघि छुटिनु भएको हो । हामी एउटै घरको होइन । फेरि पनि मैले त सम्झाएकै हुँ,’ उनले भनिन्, ‘मलाई उपप्रमुख होइन, बुहारीको नजरमा पनि हेरिदिनू ।

कहिलेकाहीँ आफ्नो घरको त जिम्मा लिन सकिँदैन, जेठाजुको घरको कसरी लिनु ?’ उनले आफू जहिले पनि जातीय विभेदको विरुद्धमा भएको बताइन् । छोरीलाई सँगै राखेर किरिया बार्न परिवारमा पनि कुरा राखेको तर, आमा र भाइले नमानेको उनको दाबी छ । नयाँ पत्रिका दैनिकबाट