आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

बहुमत पुर्याउन सत्ता गठबन्धनलाई सकस- मध्यावधिको खतरामा कोसी प्रदेश

गोकर्णेश्वर खबर१९ असार २०८०, मंगलवार ०७:५४ मा प्रकाशित (९ महिना अघि) १२७ पाठक संख्या

काठमाडौं, असार १९ । नेकपा (एमाले) नेतृत्वको कोसी प्रदेश सरकार अल्पमतमा परेसँगै बहुमतको सरकार गठनमा दलहरूलाई सकस देखिएको छ । नयाँ सरकार गठनका लागि कोसी प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई दिएको असार २१ गते बेलुका ५ बजेसम्मको समयमा बहुमत जुटाउन निकै सकस देखिएको हो ।

संघीय सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरूले सरकारका गठनका लागि आवश्यक बहुमत पु¥याउन नसक्दा प्रदेशसभा मध्यावधितर्फ जान सक्ने खतरा बढेको छ । सत्ता गठबन्धनका दलहरूले बहुमत पु¥याउने दाबी गर्दै आए पनि मध्यावधिको खतरा बाँकी नै रहेको प्रदेश सभामुख बाबुराम गौतमले बताए।

मध्यावधिको खतरा भए पनि त्यसलाई टार्नका लागि सभामुखको हैसियतले सबै प्रयत्न गर्ने गौतमले बताए। नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका सभामुख गौतमले प्रदेशलाई मध्यावधिमा कुनै हालतमा जान नदिने भन्दै पहिलो चरणमा राप्रपासमेतलाई समेटेर गठबन्धनलाई बहुमत पु¥याएर सरकार बनाउने कसरतमा लागेको बताए। ‘कुनै अवस्थामा पनि मध्यावधिमा जान नदिने पक्षमा छु’, सभामुख गौतमले भने– ‘मध्यावधि हामीलाई स्वीकार्य छैन ।

त्यसका लागि पहिलो राप्रपासमेतलाई समेटेर यही गठबन्धनलाई बहुमत पु¥याएर सरकार बनाउने कसरतमा लागेका छौं । दोस्रो सर्वदलीय साझा सहमतिको सरकार बनाउनुपर्ने हुन सक्छ । त्यो पनि भएन भने ठूलो दलको हैसियतले सरकार बनाउने अभ्यासमा समेत जानुपर्ने हुन सक्छ । यी सबै विकल्प अपनाएर पनि प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने प्रयास मेरो तर्फबाट हुन्छ ।’

गठबन्धनको तर्फबाट कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सभामुख गौतमले बताए। यद्यपि, मध्यावधिको खतरा भने बाँकी नै रहेको उनको भनाइ छ । नेपाली कांग्रेसका सांसद केदारबाबु कार्कीले आगामी सरकार गठनका सन्दर्भमा गठबन्धन र बाहिरका दलहरूसँग समेत सकारात्मक छलफल भइरहेको बताए।

प्रदेश प्रमुखले दिएको समयभित्र गठबन्धन दलहरूलाई बहुमत जुटाउन समस्या नरहेको दाबी गर्दै उनले भने– ‘हामी गठबन्धनभित्र र बाहिरका दलहरूसँग समेत सकारात्मक छलफल गरिरहेका छौं । राप्रपाका नेताहरूले पनि कोसी प्रदेशलाई दुर्घटनाबाट जोगाउन एकदमै संवेनशील रहेको बताउँदै आउनुभएको छ । मलाई विश्वास छ सरकार गठनमा सजिलै बहुमत पुग्छ, पु¥याउनुपर्छ ।’

एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारले संसद्बाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले यही २१ गते साँझ ५ बजेसम्ममा अर्को सरकार गठनको आह्वान गरेका छन् । एमाले–राप्रपाको सरकार अल्पमतमा परेसँगै केन्द्रीय सरकारको सत्ता गठबन्धन कांग्रेस, माओवादी, नेकपा एस, जसपासमेत मिलेर बहुमतको सरकार बनाउने बाटो खुलेको छ । तर, उनीहरूसँग पनि आवश्यक बहुमत नभएपछि राप्रपालाई जसरी पनि मनाउनुपर्ने बाध्यता दलहरूलाई छ । अथवा गठबन्धनको सरकार निर्माणका लागि सभामुखलाई फिर्ता बोलाउनुपर्ने बाध्यात्मक परिस्थिति कोसी प्रदेशमा छ । नेपाल समाचारपत्र दैनिकबाट