आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

कोरिया पठाउने तयारी

गोकर्णेश्वर खबर२५ श्रावण २०७९, बुधबार ०७:०७ मा प्रकाशित (१ साल अघि) ३०६ पाठक संख्या

काठमाडौँ, साउन २५ गते । रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको नाम दक्षिण कोरिया मानव संशाधन विभाग ९एचआरडी० को रोस्टरमा पठाउन थालेको हो ।

ईपीएस कोरिया शाखाका अनुसार रोस्टरमा नाम पठाउने सूचीमा रहेका उम्मेदवारको व्यक्तिगत चारित्रिक विवरण ठीक भएको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षणको रिपोर्टसहित रोजगार आवेदन फारमसहितको नाम रोस्टरमा पठाइएको छ ।

दक्षिण कोरिया सरकारले कृषि तथा पशुुपालनतर्फ दुई हजार ७४१ जना श्रमिकको माग आएकोमा पहिलो चरणमा एक हजार ८०९ जना उत्तीर्ण भएका छन् । परीक्षाका लागि जम्मा छ हजार ५९७ जनाले आवेदन दिएकोमा छ हजार १०६ जनाले परीक्षा दिएका थिए ।

यस्तै कृषितर्फको दोस्रो चरणका लागि असार १३ गतेदेखि २२ गतेसम्म भएको परीक्षामा एक हजार १०३ जना उत्तीर्ण भएका छन् । दोस्रो चरणमा उत्तीर्ण भएका उम्मेदवारको स्वास्थ्य परीक्षण, व्यक्तिगत चारित्रिक विवरण ठीक भएको प्रहरी प्रतिवेदनसहित रोजगार आवेदन फारम भराउने काम भइरहेको छ ।

कृषि तथा पशुपालनतर्फको पहिलो र दोस्रो चरणमा गरेर दुई हजार ९१२ जना उत्तीर्ण भएका छन् । ईपीएस शाखाका उक्त क्षेत्रका लागि दुई हजार ७४१ जनाको माग रहेको छ । मागको सङ्ख्या र उत्तीर्ण सङ्ख्या हेर्दा १७१ जना बढी हुन आउँछ । ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले माग आएका सबै जना जान पाउँछन् भने निश्चित रहेको बताउनुभयो । कोरिया मानव संसाधन विभाग ९एचआरडी० ले भिसा र रोजगार अनुमतिपत्र नपठाउँदासम्म कोरिया जान छनोट भएका कसैलाई पनि १०० प्रतिशत ढुक्क भन्न नसकिने उहाँको भनाइ छ ।

पहिलो चरणको परीक्षा सुरु

रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत दक्षिण कोरिया जान लिइने उत्पादनतर्फको पहिलो चरणको भाषा परीक्षा सुरु भएको छ । सन् २०२२ मा उत्पादनतर्फ ईपीएसमार्फत रोजगारीमा दक्षिण कोरिया जानेका लागि पहिलो चरणको परीक्षण साउन २ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गरिनेछ । ईपीएस शाखाका अनुसार उत्पादनतर्फको पहिलो चरणको परीक्षाका लागि १५ हजार ३८३ जनाले आवेदन दिएका छन् । यस्तै उत्पादनतर्फको दोस्रो चरणको परीक्षा आउँदो भदौ २० गतेबाट असोज २१ गतेसम्म सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार दोस्रो चरणको परीक्षाका लागि १८ हजार ९९५ जनाले आवेदन दिएका छन् । उक्त परीक्षाबाट यस वर्षका लागि उत्पादनतर्फ माग भएको छ हजार ९१३ जना छनोट गरिनेछ ।

यसअघिका परीक्षामा नक्कली विद्यार्थी धेरै हुने गरे पनि यस पटक भने परीक्षाको रोस्टरमा परेका अघिल्लो दिन बायोमेट्रिक गरेर मात्रै परीक्षा दिने व्यवस्था गरिएकाले त्यो समस्या नभएको ईपीएस शाखाका निर्देशक कटवालले जानकारी दिनुभयो ।

दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिले छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो । ईपीएस शाखाका अनुसार सन् २०२२ मा ईपीएसमार्फत कोरिया जानका लागि ४४ हजार ८५३ जनाले आवेदन दिएकोमा कृषितर्फ १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ जना रहेका छन् ।

सन् २०१९ पछि दुई वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ का लागि नौ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित आवेदन माग गरिएको थियो । एचआरडीले कृषि तथा पशुपालन क्षेत्रमा दुुई हजार ७४१ र उत्पादनमूलक क्षेत्रमा छ हजार ९१३ नेपाली लैजाने भनेको छ । उक्त परीक्षाको आवेदन भने चैत १४ देखि २१ गतेसम्म अनलाइनमार्फत माग गरिएको थियो ।

-गोरखापत्र अनलाइन