आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

कोरोना भाइरसकाे संक्रमण समुदायबाट समूह-समूहमा फैलिदै

गोकर्णेश्वर खबर२२ श्रावण २०७७, बिहीबार ०६:२७ मा प्रकाशित (३ साल अघि) ४८७ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो ।

पछिल्लो २४ घण्टायता थप पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जनस्वास्थ्य विज्ञहरूले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै सचेत र सतर्क रहन आग्रह गरेका छन् ।

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै कोरोना जोखिम बिस्तारै समुदायमा प्रवेश गरिसकेको बताए । उनले भने, ‘अन्तरजिल्लामा आवतजावत पूर्णतः बन्द गर्नुपर्छ । भारतबाट नेपाल आउन रोक लगाउनुपर्छ ।’

संक्रमणको उद्गम मानिएको चीनको वुहानबाट नेपाल फर्किएका चिकित्सक तथा अनुसन्धानकर्ता डा रमेश आचार्यले संक्रमण समुदायबाट समूह समूहमा फैलिन सुरु गरिसकेको बताए । उनले भने, ‘समुदायबाट समूह समूहमा संक्रमण फैलिसकेको छ । समयमा नियन्त्रण गर्न नसकिए स्थिति अझै भयावह भई गम्भीर क्षति बेहोर्नुपर्ने हुन सक्छ ।’

जनस्वास्थ्य विज्ञहरूले हेलचेक्रयाँइ गरिए स्थिति अनियन्त्रित हुन सक्ने भन्दै सावधानी अपनाउनुको विकल्प नरहेको बताएका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमण अझै समूह समूहमा फैलिनसकेको बताएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।