आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

नेपालमा अनौठो प्रजातिको माछा भेटियो

गोकर्णेश्वर खबर३ श्रावण २०७७, शनिबार ०७:२९ मा प्रकाशित (३ साल अघि) ३७१ पाठक संख्या

विराटनगर । मोरङको बेलबारी ६ मा अनौठो प्रजातिको माछा भेटिएको छ ।

बेलबारीको सोमबारे र बनौलबीच नहरको पानीमा स्थानीयले पहिचान गर्न नसक्ने प्रजातिको माछा भेटिएको हो । सुनसरी–मोरङ सिँचाइ आयोजनाको यो नहरमा बुधबार दुईवटा माछा फेला परेका थिए । स्थानीय टेकनाथ शर्माले नयाँ जातको माछा भेटिएपछि त्यसको विषयमा जानकारी लिन चाहेर माछालाई सुरक्षित राखेका छन् ।

बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुलीले अहिलेसम्म कसैले पहिचान गर्न नसकेको माछा भेटिएकोले त्यसको प्रमाणित गर्न चाहेको बताइन् । उनले जीवशास्त्रीमार्फत पहिचान गर्ने तयारी भइरहेको बताइन् । नयाँ प्रजातिको माछा भेटिएपछि धेरैलाई चासो भइरहेको छ ।

प्राणीशास्त्री एवम् वातावरण क्षेत्रका जानकार रामचन्द्र अधिकारीले हारा प्रजातिको माछा हुनसक्ने बताए । उनले फिल्डमै पुगेर माछाको अनवलोकन नगर्दासम्म यकिन हुन नसक्ने बताए । नेपालका लागि यो नयाँ प्रजाति मानिए पनि भारत र चीनमा पाइने प्रजातिमा पर्ने अधिकारीको भनाइ छ ।

उनका अनुसार आईयूसीएनले यो प्रजातिलाई लिस्ट कन्सर्न अर्थात् लोप हुन लागेको वा खतराको सूचीमा परेको भन्ने वर्गीकरण नगरेका प्रजातिको वर्गमा राखेको अधिकारीले बताए । यसको नौ प्रजाति हुने उनको भनाइ छ । (गोरखापत्र)