आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

कर्मचारीले घुस खाँदा कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोकर्णेश्वर खबर३१ असार २०७७, बुधबार ०५:५७ मा प्रकाशित (३ साल अघि) २२८ पाठक संख्या

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाउने उद्देश्यसहित अख्तियारले पहिलोपटक विशेष अदालतमा प्रमुखको पनि संलग्नता देखिएको भन्दै मुद्दा दर्ता गरेको हो । मालपोतका कर्मचारीले जग्गाको कित्ताकाट गर्न आदेश गराइदिएबापत सेवाग्राहीसँग घुस मागेका थिए ।

सोही उजुरी अख्तियारमा परेपछि मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई नियन्त्रणमा लिइएको थियो ।

प्रमुखले दिएको ग्रिन सिंग्नलकै कारण कर्मचारीले घुस लिएको निष्कर्षसहित अख्तियारले मालपोत प्रमुख अधिकारीलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूलाई अख्तियारले टोखा नगरपालिका—९ सामाखुसी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट रकमसहित नियन्त्रणमा लिएको थियो । अख्तियारले उनीहरूविरुद्ध जनही बिगो रकम ८ लाख ५० हजार रुपैयाँ कायम गरी एक वर्ष ६ महिनादेखि दुई वर्ष ६ महिनासम्म कैद सजायको मागदाबी गरेको छ । राजधानी दैनिकबाट