आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

एकै परिवारका छ जना गुमे , दागबत्ती दिने सम्म पनि बचेनन्

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार ०७:१९ मा प्रकाशित (३ साल अघि) २५२ पाठक संख्या

काठमाडौं । परिवारका आफन्तहरूलाई दागबत्ती दिने र काजकिरिया गर्ने जो कसैको परिवारको पनि चाहना हुन्छ नै । परिवारका सदस्यहरूमै दागबत्ती दिनका लागि हानथाप हुने गर्छ तर म्याग्दीको बिममा गएको पहिरोमा पर्ने वीरबहादुर नेपालीको परिवारका छ जनालाई दागबत्ती दिने घरका कोही पनि बचेनन् । एक जना गम्भीर घाइते भएर बाँच्नुभयो भने दुई भाइका परिवारको छ जना सबैको मृत्यु भयो ।

बिहीबार रातिदेखि अविरल वर्षा भइरहेको थियो । पूर्णिमापछिको अँध्यारो रात । आकाशबाट पानी भाँडोबाटै घोप्टाए जसरी परेको थियो । बिजुली चम्कँदो रात । त्यहीमाथि बादलको गड्याङगुडुङ् । मस्त निद्रामा थिए सबै गाउँले । बिहान ३ बजेपछि जब भिरपाखा पहराहरू भत्किएर गाउँतर्फ बगे, अनि बगायो बिम तथा मराङका मानवबस्ती । अनि सँगै त्यही बस्तीमा मस्त निद्रामा रहेका ३१ जनालाई पनि बगायो, उनीहरूकै जिन्दगीसँगै । अहिलेसम्म २७ जनाको शव भेटियो, बिम र मराङमा भने अझै चार जना बेपत्ता छन् ।

मालिका गाउँपालिका–७, बिमका गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, वीरबहादुरका तीन महिनाका छोरा, विष्णु नेपाली र सन्दीप नेपालीले संसार छाडे । एक जना गम्भीर घाइते हुनुभयो, पूर्णबहादुर नेपाली । पोखरामा उपचाररत रहनुहुन्छ, उहाँ । गम्भीर घाइते भएर उपचारका लागि पोखरा अस्पतालमा पूर्णबहादुर छट्पटाइरहनुभएको छ । आफ्नो र भाइ वीरबहादुरको सबै परिवारको मृत्यु भयो । उहाँले परिवारलाई जोगाउन खोज्दै गर्दा आफैँ गम्भीर घाइते हुनुभयो ।

असार २६ गते बिहान ३ बजे गम्भीर घाइते हुनुभएका उहाँ २७ गते शनिबार दिउँसोसम्म छट्पटाएरै भग्नावशेषमा रहनुभयो । उहाँलाई बेनीका नारायण जिसीको पहलमा प्रभु एयरको हेलिकोप्टरले उद्धार गरी पोखरा पुर्याइयो । आफू घाइते अवस्थाको पीडाले छट्पटिइरहनुभएका पूर्णले आफ्नो परिवारका छ जनाको लास हेर्न र दागबत्तीसम्म पनि दिन पाउनुभएन । उहाँको परिवारको सबै सदस्यलाई दागबत्ती नाताले काका पर्ने एक जनाले दिनुभयो । आजको गोरखापत्र राष्ट्रिय दैनिकबाट