आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

तयारी बिनै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिँदै

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार ०६:४३ मा प्रकाशित (३ साल अघि) २६० पाठक संख्या

सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको छ।

तर त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन। नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा अनिवार्य विषय थप गरिए पनि त्यसको अध्यापनका लागि आवश्यक पर्ने हजारौँ जनशक्तिका बारेमा तयारी गर्न बाँकी रहेको पाइएको छ।

नयाँ पाठ्यक्रम अध्यापनका लागि विद्यालयमा स्नातकोत्तर तह उत्तीर्ण शिक्षक चाहिन्छ । हाल स्नातक तहको जनशक्तिले कक्षा १० सम्म अध्यापन गराउँदै आएका छन्।

माथिल्लो कक्षामा पढाउन माथिल्लो शैक्षिक योग्यता भएको जनशक्ति चाहिने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने सम्बद्ध व्यक्तिहरूले औँल्याएका खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

 

कक्षा ११ मा यस पटकबाट नेपाली र अङ्ग्रेजीका साथै सामाजिक विषयसमेत अनिवार्य गरिएको छ। सामाजिक विषय धेरै बोझिलो बनाइएको र नेपालीमा अध्यापन गर्नुपर्ने प्रावधानबाट यसको कार्यान्वयनमा जटिलता आउन सक्ने जनाइएको छ।

राजधानीको गोठाटारस्थित तेजविनायक माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुप्रसाद तिमिल्सिनाले नयाँ पाठ्यक्रम लागू हुँदैछ भन्ने विषयमा विद्यालय, शिक्षक पूरै बेखबर रहेको भन्दै यसका लागि आवश्यक तयारी गर्न अब ढिला भइसकेको बताउँछन्।