आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

नेपाल टेलिकमले हरेक वडामा वाईफाई उपलब्ध गराउने

गोकर्णेश्वर खबर२९ असार २०७७, सोमबार १६:०८ मा प्रकाशित (३ साल अघि) २८३ पाठक संख्या

काठमाडौं । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ ।

कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘डिभाइस’को प्रयोग गरेर वाईफाई सुविधा उपलब्ध गराउने टेलिकमको योजना छ ।

टेलिकमलाई उपलब्ध आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर वाईफाई उपलब्ध गराइने कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिए । कम्पनीले वाईफाईसँगै फिक्स्ड टेलिफोन सेवा पनि समाहित गरेर उपलब्ध गराउने तयारी गरेको छ ।

संस्थागत प्रयोगकर्तालाई फिक्स्ड टेलिफोन उत्तिकै आवश्यक र महत्वपूर्ण हुने भएकाले यससँगै त्यो सुविधा पनि हुनेछ, उनले भने । टेलिकमले आफ्ना संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराउने डिभाइसमा टेलिफोनको छुट्टै पोर्ट हुनेछ । त्यसैमार्फत सामान्य टेलिफोनमा जोडेर कुराकानीका लागि प्रयोग गर्न सकिने छ । उक्त डिभाइसमा सिमकार्ड प्रयोग हुनेछ ।

यद्यपि त्यसको नम्बर भने टेलिकमले अहिले जिल्लाअनुसार उपलब्ध गराइरहेको कोडबाट सुरु हुनेछ । इन्जिनियर नेपालका अनुसार चितवनको प्रयोगकर्ता हो भने ०५६ बाट फोन नम्बर सुरु हुनेछ । टेलिकमले गाउँगाउँसम्म विस्तार गरेको सीडीएमएको फिक्स्ड फोन विस्थापन गर्ने र वाइम्याक्स पनि प्रभावकारी हुन छाडेपछि यी दुवैलाई समाहित गरेर नयाँ योजना अगाडि सारेको हो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।