आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

राजदूत सुवेदीको ‘कोरोना महामारी’ सम्बन्धी गीतको म्यूजिक भिडियो सार्वजनिक

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार २०:१५ मा प्रकाशित (३ साल अघि) ५५३ पाठक संख्या

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘कोरोनाको महामारी’ बोलको गीतमा छायांकन गरिएको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

साहित्यिक नाम दुबसु क्षेत्रीका रुपमा परिचित सुवेदीका ‘म जस्तै तिमी पनि’, ‘तिम्रो तस्वीर आँखाभरि’, ‘निर्मम यादहरु’ जस्ता गीत गजल स्वरवद्ध भइसकेका छन् ।

उक्त गीत लेख्दा आफ्नो मनमा मुख्य तीन कुरा आएको सर्जक सुवेदीले बताए । “प्रथम, कोरोना महामारीका बखत मानव जातिले भोगेको इतिहासको यो दुर्दान्त घटनालाई सृजनात्मक रुपमा अभिलेखीकरण गर्ने सोच, दोस्रो हरेक व्यक्ति, मानिस तथा परिवारमा संशय छ, भय छ, निरासा छ, मरिन्छ भन्ने त्रास छ । यो त्रासलाई हटाउनका लागि र यो लडाई मानव, मानव बीच हैन मानव र अदृश्य शक्तिबीच भएको हो । यो लडाईमा सबै मानिस एक ठाउँमा भएको कारण मानवताको जित हुनेछ भन्ने भावनालाई अभिव्यक्त गर्नु नै मुख्य उद्देश्य हो,” उनले भने ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै संगीतको माध्यमबाट जनचेतनामूलक सन्देशको रुपमा म्यूजिक भिडियो तयार गरिएको छ । उक्त गीतमा वरिष्ठ गायकहरु रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, रोशन अधिकारी र प्रविशा अधिकारीको स्वर छ ।

वरिष्ठ संगीतकार शिखर सन्तोषको संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको म्यूजिक भिडियोमा दीपाश्री निरौला र सरिता लामिछानेको अभिनय छ । राजदूत सुवेदीकी धर्मपत्नी पुनम राज्यलक्ष्मी सुवेदीले उक्त भिडियो सार्वजनिक गरेकी हुन्।