आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

बिनाहेल्मेट मोटरसाइकल चलाएका पारसले प्रहरीलाई गरे दुर्व्यवहार

गोकर्णेश्वर खबर१६ श्रावण २०७८, शनिबार ०९:३२ मा प्रकाशित (२ साल अघि) ५८६ पाठक संख्या

काठमाडौं । हेल्मेट नलगाइ मोटरसाइकल चलाइरहेका पूर्व युवराज पारस शाह र प्रहरीबीच राजधानीको महाराजगञ्ज चोकमा झगडा भएको छ। शुक्रबार साँझ बिनाहेल्मेट मोटरसाइकल चलाइरहेका उनलाई महाराजगञ्ज चोकमा ड्युटीमा खटिएका प्रहरीले रोकेपछि विवाद सुरु भएको थियो।

हेल्मेट नलगाएकोबारेमा प्रहरीले सोधखोज गर्दै रोकेपछि झ्वाँक्किएका पारसले प्रहरीलाई हप्की दप्कीसहित गालीगलौज पनि गरेका थिए। रोकेपछि आक्रोशित पारसलाई प्रहरीले हातमा समातेर रोकेका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले ट्राफिक नियम विपरीत सवारी चलाइरहेको अवस्थामा ड्युटीमा तैनाथ कर्मचारीले रोकेर सोधखोज गरेको बताए।

हेल्मेट नलगाइ मोटरसाइकल चलाएकोबारे त्यहाँ जम्मा भएका अन्यले पारसकै गल्ती देखाइरहँदा उनी भने प्रहरीसँग झगडा गर्न तम्सिएका थिए। पारसले प्रहरीलाई हप्काइरहेको भिडियो केही सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुकमा हालेका छन्।

जुन भिडियोमा पारसको हात समातिरहेका एकजना प्रहरीले माथिल्लो निकायमा सञ्चार सेटबाट रिपोर्टिङ गर्दा रक्सी पिएर आएका उनले बिनाहेल्मेट मोटरसाइकल चलाइरहेको बताउँदै गरेको सुन्न सकिन्छ।

ट्राफिक नियम उलंघन गरेकाले प्रहरीले पारसलाई प्रहरी कार्यालय जानुपर्ने बताइरहेका थिए। तर पारसले उनको पुरानै उग्र शैलीमा, जान्न, म जाँदै जान्न, तैँले के गर्छस्? तँ को होस्ु भन्दै हप्कीदप्की गरिरहेको सुन्न सकिन्छ।

प्रहरीले पारसलाई समातेर प्रहरी कार्यालयतिर लान खोज्दा खोज्दै उनका समर्थक आएर नाराबाजी पनि गरेका थिए। उनीहरुले पारस सरकार भन्दै नाराबाजी गरेपछि केहीबेर तनाव भएको थियो।

तर केही बेरमा पारसका लागि हेल्मेट ल्याएपछि पारसलाई त्यहीँबाट छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सिंहले जानकारी दिए।