आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

बिपी स्मृतिमा काभ्रेकाे बेथानचाेकमा वृक्षराेपण

गोकर्णेश्वर खबर६ श्रावण २०८०, शनिबार १२:५२ मा प्रकाशित (९ महिना अघि) ८८ पाठक संख्या

काभ्रेपलाञ्चोक । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा बेथानचोकमा वृक्षरोपण गरिएको छ ।

बेथानचोक गाउँपालिका–२ मा रहेको निर्माणाधीन प्राथमिक अस्पताल परिषरमा विभिन्न फलफूललगायतका वृक्षरोपण गरिएको हो। वृक्षरोपणका साथै बिपी स्मृति कार्यक्रमसमेत आयोजना गरिएको छ ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष मधुसुदन तिमल्सिनाका अनुसार कायर्क्रममा पालिका अध्यक्ष भगवान अधिकारी, पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिना, जनप्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभएको थियो ।