आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

पार्टी विभागको संयोजन वरिष्ठसहित ७ उपाध्यक्षलाई दिने एमालेको निर्णय

गोकर्णेश्वर खबर२२ जेष्ठ २०८०, सोमबार ०८:०७ मा प्रकाशित (११ महिना अघि) १७१ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वरिष्ठसहित ७ उपाध्यक्षलाई पार्टीको विभाग संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

एमालेको शु्क्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागको संयोजन जिम्मेवादी दिने निर्णय गरेको हो । एमालेमा विभिन्न ३२ विभाग छन् । त्यसको संयोजन अब उपाध्यक्षहरुलाई तोकिएको छ ।

सचिवालय बैठकले विभिन्न विभागको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्षहरुलाई दिएको उपमहासचिव प्रदिप ज्ञवालीले  जानकारी दिनुभएको छ ।

बैठकले योजना तथा नीति सम्बन्धी विभागको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएको छ ।  पूर्वाधार र विकास निर्माण सम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाउनुभएको छ ।  कृषि तथा उद्यमशीलता सम्बन्धी विभागको नेतृत्व रामबहादुर थापा बादलको भागमा परेको छ ।  सामाजिक विकास सम्बन्धी विभागको नेतृत्व अष्टलक्ष्मी शाक्यले समाल्ने अवसर पाउनु भएको छ ।

मानव स्रोतसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष युवराज ज्ञवालीलाई तोकिएको छ । सुशासन र सेवा प्रवाह सम्बन्धी विभागको नेतृत्वमा सुवास नेम्वाङ रहनुभएको छ ।  संगठन प्रशिक्षण र प्रचारसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष विष्णु पौडेललाई तोकिएको छ ।

बैठकले  प्रदेश इन्चार्ज जिम्मेवारी  केन्द्रीय सचिवहरुलाई तोकेको छ   ।  कोशी प्रदशेको इन्चार्जको जिम्मेवारी  रघुवीर महासेठले पाउनु भएको छ । मधेसको इन्चार्ज योगेश भट्टराईलाई बनाइएको छ । गण्डकी इन्चार्ज गोकर्ण बिष्टलाई तोकिएको छ ।  लुम्बिनीको इन्चार्ज पद्मा अर्याललाई दिइएको छ ।

कर्णाली इन्चार्जमा लेखराज भट्ट रहनुभएको छ । सुदूरपश्चिम प्रदेशको इन्चार्ज  छविलाल विश्वकर्मालाई बनायएको छ ।  बाग्मतीको विशेष कामहरुको संयोजन भने केन्द्रीय कार्यालयले नै गर्ने उपमहासचिव ज्ञवालीले जानकारी गराउनुभयो ।

केन्द्रीय संगठन प्रमुख काशीनाथ अधिकारी र प्रचार तथा प्रकाशन विभागको प्रमुख राजेन्द्र गौतमलाई ताृकिएको छ । यसअघि केन्द्रीय संगठन प्रमुखमा खगराज अधिकारी र प्रचार विभाग प्रमुख उपमहासचिव पृश्वीसुब्बा गुरुङ रहनुभएको थियो ।

उपमहासचिव ज्ञवालीका अनुसार स्थानीय कमिटी र पोलिटब्यूरो सदस्यहरुलाई जिल्ला इन्चार्ज बनाएएको छ । केन्द्रीय सदस्यहरुलाई पालिकाहरु नै तोकेर कामको जिम्मेवारी दिइएको छ । स्कुलिङ, प्रचार र जनसंगठनहरुको संयोजन गर्न सात वटा प्रदेशमा एकएक जना केन्द्रीय सदस्य खटाइएको छ ।

बैठकले विभिन्न पार्टीबाट आएका १३ जनालाई केन्द्रीय सदस्य मनोनित गरिएको ज्ञवालीले  जानकारी दिनुभएको छ । ज्ञवालीका अनुसार नेकपा एकीकृत समाजवादी छोडेर अघिल्लो महिना मात्र एमालेमा पस्नुभएका मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगली, हेमराज राई, ठक्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, इकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धरलाई केन्द्रीय सदस्य मनोनित गरिएको छ ।

एमालेले नागरिकता विधेयक प्रमाणीकरण सविधानको उल्लंघन र संसदको अपमान भएको निष्कर्ष समेत निकालेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान, कानुन र संसदीय मान्यता विपरीत भएको एमालेको ठहर छ ।