आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण हुनु आपराधिक घटना : राजेन्द्र लिङ्देन

गोकर्णेश्वर खबर२७ फाल्गुन २०८०, आईतवार १८:३८ मा प्रकाशित (१ महिना अघि) ६० पाठक संख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण हुनु आपराधिक घटना भएको बताएका छन्।

आइतबार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरूको समूहले श्रेष्ठमाथि हातपात गरेका थिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु आपराधिक घटना भएको बताए।

उनले पार्टीले दोषीमाथि कारबाही हुनुपर्ने निर्णय गरेको पनि बताए।

‘पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीलाई, कार्यसम्पादन समितिको सदस्यलाई अप्रत्यासित रूपमा जुन आक्रमण भएको छ, सिसिटिभी फुटेज, अन्य सञ्चारमाध्यममा आएको भिडिओ समेतलाई लिएर अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने भन्ने समेत निर्णय भइसकेको छ। त्यो नितान्त आपराधिक घटना हो। त्यसमा कारबाही हुनुपर्छ भन्ने हाम्रो निर्णय भएको छ,’ उनले भने।

देशको समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भइरहँदा अप्रत्यासित रूपमा झडप भएको उनको भनाइ छ। यो किन भयो भन्ने विषयमा पनि खोजी भइरहेको उनले बताए।

यसको अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरिसकेको भन्दै बैठकले यसप्रति खेद व्यक्त गरेको उनले बताए।

शनिबारदेखि जारी राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पनि बस्ने उनले जानकारी दिए।(न्युज एजेन्सी नेपाल