आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

खोप लगाउन आजदेखि विद्यालय खुल्ने

गोकर्णेश्वर खबर१६ माघ २०७८, आईतवार ०८:०१ मा प्रकाशित (२ साल अघि) १३४ पाठक संख्या

काठमाडौं – सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्धको खोप विद्यालय मै लगाउने भएको छ ।

खोप कार्यक्रमका लागि स्थानीय तहसँग समन्वय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले यसअघि खोप लगाउन छुटेका विद्यार्थीलाई आइतबारदेखि २० गतेभित्र खोप लगाइसक्न पनि भनेको छ ।

खोप अभियानको लागि पाँच दिन विद्यालय खोल्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । यो अवधीमा पनि पढाइ भने वैकल्पिक विधिबाट गर्न मन्त्रालयले सुझाव दिएको छ ।

अहिले खोप अभियानको लागि मात्रै विद्यालय खोल्ने निर्णय गरिएकाले भौतिक रुपमा विद्यालय खोल्ने नखोल्ने भन्ने बारेमा भने निर्णय हुन बाँकी रहेको छ ।

सीसीएमसीको सिफारिसमा विद्यालय बन्द गर्ने निर्णय गरिएकाले सीसीएमसी कै सिफारिसमा मात्रै विद्यालय खोल्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

कोरोनाको सङ्क्रमण तीव्रगतिमा बढेपछि सरकारले गत पुस २५ गते सीसीएमसीको सिफारिसमा देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । तर निजी विद्यालय संगठनहरुले विद्यालय तत्काल खुलाउनुपर्ने माग गर्दै आएको छ।