आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाल तेस्रो हुँदै बाहिरियो

गोकर्णेश्वर खबर५ पुष २०७८, सोमबार ०८:५७ मा प्रकाशित (२ साल अघि) ३५७ पाठक संख्या

काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू-१९ महिला फुटबल टिम फाइनल समेत पुग्न असफल भएको छ ।

पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन लिगको खेल सकिएपछि तेस्रो हुँदै बाहिरियो । आइतबार भएको आफ्नो अन्तिम खेलमा भारतसँग १-० ले पराजित भएपछि नेपाल फाइनल समेत पुग्न सकेन ।

ढाका जानुअघि राष्ट्रिय टिमकी सदस्य समेत रहेकी कप्तान तथा गोलकिपर अन्जना राना मगर र प्रशिक्षक हरि ओम श्रेष्ठले नेपालको लक्ष्य उपाधि जित्ने नै रहेको बताएका थिए ।

तर त्यो लक्ष्य पूरा नगरी नेपाली टोली स्वदेश र्फकने भएको छ । लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई १२-० को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल बाहिरिने औपचारिकता पूरा भएको थियो । आयोजक बंगलादेश अपराजित रहँदै ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुग्यो । चारमध्ये तीन खेल जितेको भारत ९ अंक जोडेर दोस्रो हुँदै फाइनल पुग्यो । अब बंगलादेश र भारतबीच फाइनल खेल हुनेछ । नेपाल भने २ जित, १ बराबरी र १ हारपछि ७ अंक जोडेर तेस्रो भयो ।

सम्भावित १२ अंकमध्ये नेपालले ५ अंक गुमाउँदा ७ अंक फाइनल पुग्न पर्याप्त भएन ।

पहिलो खेलमै बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाललाई फाइनल पुग्न बाँकी तीन खेल जित्नैपर्ने दबाब थियो । श्रीलंका र भुटानविरुद्ध क्लिनसिट राख्दै सहज जित निकालेको नेपालका लागि भारतसँगको एक गोल अन्तरको हार नै महँगो बन्यो ।

बराबरी मात्र खेलेपनि नेपाललाई फाइनल पुग्न पर्याप्त थियो । तर दोस्रो हाफमा प्रियंका देवीले गरेको गोल नै भारतलाई फाइनल पुर्‍याउन निणरयक साविक बन्यो । यसअघिको खेलमा बंगलादेशसँग पराजित भएको भारतलाई फाइनल पुग्न नेपालविरुद्ध खेल जित्नैपर्ने थियो । नेपालले भने हार टारे पुग्ने थियो । तर भारत नेपाललाई हराउँदै फाइनल पुग्न सफल भयो ।

कुनै पनि खेलमा भारतसँग खेल्नु नेपालको लागि चुनौतीपूर्ण बन्दै आएको छ । प्रशिक्षक हरि ओम श्रेष्ठले पनि भारतलाई हराउने लक्ष्य रहेको बताएका थिए । तर सफल हुन सकेन ।

सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करणको प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो । समूह चरण र फाइनल गरी दुई पटक नेपाल बंगलादेशसँग हारेको थियो ।

कप्तान अन्जनासहित राष्ट्रिय टिमका ६ खेलाडी रहेको टिमले यस पटक बंगलादेशविरुद्ध बदला लिने लक्ष्य बनाए पनि त्यो सफल हुन सकेन ।

पहिलो खेलमै बंगलादेशसँग खेल्दा नेपालले बराबरी खेल्दै अंक बाँड्नुपर्‍यो । कप्तान अन्जना र डिफेण्डर विमला विकले शानदार प्रदर्शन गर्दा नेपाल हारबाट जोगिएको थियो । तीन वर्षअघि व्यहोरेको दुई हारको बदला लिने चाहना यस पटक अधुरै रह्यो ।