आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

गोकर्णेश्वर खबर२२ मंसिर २०८०, शुक्रबार १५:१७ मा प्रकाशित (४ महिना अघि) २८२ पाठक संख्या

काठमाडौं । एसिसी यू १९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ।

शुक्रबार युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो।

नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे। कुनै समय ५ विकेटको क्षतिमा ४६ रन मात्र जोडेको नेपालको रन उकास्न उनले धैर्यपूर्वक ब्याटिङ गरेका थिए।

दिपेश कँडेलले बनाएको ३१ रन पनि नेपालका लागि महत्वपूर्ण सावित भयो।

दिपेश र उत्तमबीच छैटौं विकेटका लागि ६८ रनको साझेदारी भएको थियो। कँडेलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे।

कँडेल आउट भएको दुई ओभरपछि विशाल विक्रम केसी आउट हुँदा १ रन मात्र जोड्न सके। यस्तै विकेटकिपर विपिन रावल पनि ३८ ओभरमा शून्यमा मोहमद जीशानबाट बोल्ड भए।

त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भएका थिए। उनले ३७ बलमा ३ चौका प्रहार गरे। लगत्तै अर्को ओभरमा गुल्सन झा १ रनमै आउट हुँदा नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुवाती ५ विकेट गुमायो। गुल्सनलाई पाकिस्तान अली अस्फानले १७ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए।

त्यसअघि कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए। आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे भने तिलक भण्डारी ७ रनमा क्याच भएका थिए।

अन्तिम विकेटको रुपमा आकाश चन्द ५ रनमा बोल्ड हुँदा सुवास भण्डारी ८ रनमा नटआउट रहे।

बलिङमा पाकिस्तानका मोहमद जीशानले ६ विकेट लिए। उनले ९.२ ओभरमा १९ रन जोड्दा १ मेडन राखे।

समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बंगलादेश र श्रीलंका छन्।

यू–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ।

नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।

समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।

‍नेपालले सन् २०२४ को जनावरीमा दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्दैछ।