आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

श्रीलंकाको पोष्टमा बंगलादेशको १२ गोलको वर्षा

गोकर्णेश्वर खबर५ पुष २०७८, सोमबार ०८:११ मा प्रकाशित (२ साल अघि) ९७ पाठक संख्या

ढाका । श्रीलंकाविरूद्ध गोल वर्षा गर्दै घरेलु टोली बंगलादेश साफ यू १९ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

आइतबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १२-० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो।

डिफेन्डिङ च्याम्पियन बंगलादेशले अब उपाधिका लागि भारतको सामना गर्नेछ । फाइनल खेल मंगलबार हुनेछ।

ढाकास्थित सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा बंगलादेशले पहिलो हाफमा चार र दोस्रो हाफमा ८ गोल गरेको थियो।

बंगलादेशको जितमा सहेदा अक्तेर रिपा र अफ्रिदा खान्डाकेरले ह्याट्रिक गरेका थिए। बंगलादेशले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो। त्यसपछि सातौ मिनेटमा अग्रता दोब्बर बनायो। १६ औं मिनेटमा तेस्रो गोल गरेको बंगलादेशले ४३ औं मिनेटमा चौथो गोल गर्दै पहिलो हाफमा ४-० को अग्रता बनाएको थियो।

एकदमै कमजोर दखिएको श्रीलंकाविरूद्ध ४७ औं, ४९ औं, ५४ औं, ७० औं, ७७ औं, ८३ औं, ८४ औं र ८७ औं गोल गर्न सफल भयो। श्रीलंकाले भने एक गोल पनि फर्काउन सकेन।

जारी प्रतियोगितामा अपराजित बंगलादेश समूह विजेताका रूपमा फाइनलमा पुगेको हो।

यसअघि बंगलादेशले पहिलो खेलमा नेपालविरूद्ध बराबरी खेलेको थियो। त्यसपछि भने उसले लगातार जित हात पार्‍यो ।

बंगलादेशको आइतबारको जितसँगै फाइनलमा पुग्ने नेपालको झिनो आशा पनि समाप्त भएको छ।

आतबार नै भएको पहिलो खेलमा भारतविरूद्ध नेपाल १-० गोल अन्तरले पराजित भएको थियो।

पहिलो खेलमा बंगलादेशविरुद्ध गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले हरायो भने तेस्रो खेलमा भुटानलाई ४-० गोल अन्तरमा हराएको थियो।