आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

भुटानमाथी नेपालको शानदार जित

गोकर्णेश्वर खबर३ पुष २०७८, शनिबार ०८:५८ मा प्रकाशित (२ साल अघि) १२६ पाठक संख्या

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४-० को अन्तरले हराएको छ।

नेपालका लागि मेनुकाकुमारी आलेले दुई तथा रजनी थोकर र कुसुम खतिवडाले एक/एक गोल गरेका थिए।

भुटानविरूद्ध नेपालले दोस्रो मिनेटमै खेलमा अग्रता लिएको थियो। मेनुका आलेले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिलाएकी थिइन्।

त्यस्तै, कुसुम खतिवडाले १८औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारिन्। त्यसको दुई मिनेटपछि रजनी थोकरले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता बनाइन्।

दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको भुटानले गोल गर्न नसके पनि गोल अन्तर कम गर्‍यो। खेलको ७२औं मिनेटमा मेनुकाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरिन्।

शुक्रबारको जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले अहिलेसम्म ३ खेलबाट ७ अंक जोडेको छ। अघिल्लो खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो भने त्यसअघि पहिलो खेलमा बंगलादेशविरूद्ध गोलरहित बराबरी खेलेको थियो।

नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा आइतबार भारतको सामना गर्नेछ। नेपाललाई फाइनल पुग्न एक अंक आवश्यक छ। अन्तिम खेलमा भारतविरूद्ध बराबरी खेले पनि नेपाल फाइनलमा पुग्नेछ। फाइनल खेल मंगलबार हुनेछ।

शुक्रबार नै भएको पहिलो खेलमा बंगलादेशले भारतलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश सम्भावना बलियो बनाएको छ। घरेलु टोली बंगलादेशले अब अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ।