आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

मछिन्द्रद्धारा जाउलाखेल २-० ले पराजित, जाउलाखेलको आत्मघाती गोल

गोकर्णेश्वर खबर२२ मंसिर २०७८, बुधबार २१:२५ मा प्रकाशित (२ साल अघि) ५३८ पाठक संख्या

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबले जाउलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।

जारी लिगमा दोस्रो जित हात पारेको मछिन्द्र अपराजित रहँदै ३ खेलबाट ७ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

मछिन्द्रसँगको हारसँगै जाउलाखेलले लगातार तीन खेलमा हार व्यहोरेको छ । जारी लिगमा एपीएफसंगै लगातार तीन खेलमा हार व्यहोर्ने जाउलाखेलले गोल पनि गर्न सकेको छैन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले दुवै गोल पहिलो हाफमा गरेको हो । १४ औं मिनेटमा जाउलाखेलका सिमान्त थापाले आत्मघाती गोल गरेपछि मछिन्द्रले अग्रता लियो । यस सिजनको लिगमा यो पहिलो आत्मघाती गोल हो ।

त्यसपछि १९ औं मिनेटमा जाउलाखेलका ओङ्गुना जुनियरले गोल गरेपनि रेफ्रीले अफसाइड भएको भन्दै मान्यता दिएनन् । तर सात मिनेटपछि रन्जित धिमालले फ्रिकिकमा गोल गरेर अग्रता दोब्बर पारे ।

जाउलाखेलले गोलको केही अवसर सिर्जना गरे पनि सफल हुन सकेन । पहिलो हाफको ईन्जुरी समयमा जाउलाखेलले गोलको राम्रो अवसर गुमायो । निकोलस फर्नान्डेजले पेनाल्टी बक्सबाट हानेको बल पोस्टमाथिबाट बाहिरियो ।

दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्ने केही अवसर खेर फाले । मछिन्द्रका कप्तान सुजल श्रेष्ठ र सुनील बलले पनि गोल गर्ने अवसर गुमाए ।