आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

ब्रुगमाथि पिएसजीको ४-१ को फराकिलो जित,मेसी र एम्बाप्पेले गरे २-२ गोल

गोकर्णेश्वर खबर२२ मंसिर २०७८, बुधबार ०७:१९ मा प्रकाशित (२ साल अघि) ४२६ पाठक संख्या

एजेन्सी । लिओनेल मेसी र केलीयन एम्बाप्पेले २-२ गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगमाथि ४-१ को फराकिलो जित निकाल्यो।

खेलको दोस्रो मिनेटमै एम्बाप्पेको गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाए। नुनो मेन्डेसको शक्तिशाली प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले रोक्न नसकेपछि रिबाउन्डलाई एम्बाप्पेले गोलमा परिणत गरेका थिए।

त्यसको ५ मिनेटमै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा पाहुना टोली पहिलो १० मिनेटमै २-० ले पछि पर्‍यो। एन्जल डी मारियाको पासमा एम्बाप्पेले उत्कृष्ट गोल गरेका थिए।

खेलको ३७ औं मिनेटमा लिओनेल मेसीले गोल गर्दै पिएसजीको अग्रता पहिलो हाफमै तेब्बर पुर्‍याए।

पिएसजीमाथि ३९ प्रतिशत बल पोजिसन राखेको क्लब ब्रुगका लागि माट्स रिट्सले ६७ ‍औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत देखाए।

खेलको ७६ औं मिनेटमा मेसीले गोल गर्दै खेलमा ४-१ को स्पष्ट अग्रता बनाए। मेसीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि दिइएको पेनाल्टीलाई उनी आफैंले गोलमा परिणत गरेका थिए।

यो जितसँगै पिएसजी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ। पिएसजीले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो रह्यो। क्लब ब्रुगा भने ६ खेलमा ४ अंकसहित पुछारमा रह्यो। यस समूहबाट म्यानचेस्टर सिटी शीर्षस्थानमा रहँदै नकआउट चरण पुगेको छ। तालिकाको तेस्रो स्थानमा रहेको आरबी लाइप्जिङ युरोपा लिगमा पुग्यो।