आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

नेपालविरुद्ध मैत्रीपूर्ण खेलका लागि सुनिल क्षेत्रीको नेतृत्वमा भारतीय फुटबल टोली घोषणा

गोकर्णेश्वर खबर११ भाद्र २०७८, शुक्रबार १९:२७ मा प्रकाशित (२ साल अघि) ३५२ पाठक संख्या

काठमाडौं । नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली घोषणा भएको छ। बिहीबार अल इन्डियन फुटबल फेडेरेसन (एआईएफएफ)ले सुनिल क्षेत्रीको नेतृत्वमा २५ सदस्यीय टोली घोषणा गरेको हो।

नेपाल र भारतबीचको खेल १७ र २० भदौमा दशरथ रंगशालामा हुनेछ। यसअघि एएफसी कप छनोटमा रहेका एटिके मोहन बगान र बैंगरुलु एफसीका खेलाडीलाई समेटेर प्रशिक्षक इगोर स्टिम्याकले टोली घोषणा गरेका हुन्।

एटिके मोहन बगानका खेलाडी बिहीबार नै कोलकत्ता पुगिसकेका छन्। बैंगरुलुका खेलाडी भने १३ भदौ टोलीमा सामेल हुनेछन्। सुनिल क्षेत्रीको कप्तानीमा रहेको भारतीय टोली ३० अगस्ट (१४ भदौ) नेपाल आउनेछ।

यी दुई टोलीबीच ६ वर्षपछि दशरथ रगंशालामा प्रतिस्पर्धा हुन लागेका हो। यसअघि सन् २०१५ मा विश्व कप छनोटका क्रममा नेपाल र भारतबीच भएको खेल गोलरहित बराबरीमा सकिएको थियो।

त्यसअघि भारतमा भएको छनोटको पहिलो लेगमा नेपाल २-० ले पराजित भएको थियो। मैत्रीपूर्ण खेलपछि नेपाली टोली अन्तिम तयारीका लागि कतार प्रस्थान गर्नेछ। साफ च्याम्पियनसिप आगामी असोज १५ गते देखि माल्दिभ्समा हुनेछ।

यता, नेपालले समेत भारतविरुद्ध खेलको लागि टोली घोषणा गरिसकेको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए।

भारतीय टोली

गोलरक्षक : गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोइरङथेम, अम्रिन्दर सिंह

डिफेन्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव देसाई, शुभाशीष बोस, सेरिटन फर्नाण्डेज,

मिडफिल्डर : अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह

स्ट्राइकर : मन्विर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी