आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

महानगरको सहयोगमा आजदेखि क्षेत्रपाटीमा कोभिड अस्पताल शुरु

गोकर्णेश्वर खबर१२ जेष्ठ २०७८, बुधबार १५:५२ मा प्रकाशित (२ साल अघि) ३३५ पाठक संख्या

काठमाडौँ– काठमाडौँ महानगरको सहयोगमा आजदेखि क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा आज अस्पताल सञ्चालन शुभारम्भ गरे ।

यसका लागि महानगरले पूर्वाधार सुधार गर्न एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत् करिब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ व्यहोर्नेछ ।

महानगरलाई भगिनी शहर ल्हासाले उपलब्ध गराएका भेन्टिलेटरमध्ये २ वटा क्षेत्रपाटी चिकित्सालयलाई दिएको छ । यसैगरी अस्पतालले खरिद गर्ने थप ३ वटा भेन्टिलेटरको रकम महानगरले भुक्तानी गरिदिनेछ ।

अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका बिरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको बताउँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, अहिले जनताको जीवन रक्षाका आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकता राखेको बताए ।

अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन दुवै कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नुको विकल्प नरहेको प्रमुख शाक्यको भनाइ छ ।

अस्पतालको पूर्वाधार सुधारका लागि करीब ३० लाख रुपैयाँ खर्च गरेर लिफ्ट जडान गरेको र भने नयाँ भवन निर्माण गर्न करीब ५ करोड रुपैयाँ विनियोजन गरेको महानगरले जनाएको छ ।

महानगरले अस्पतालहरुको मागअनुसार विभिन्न मितिमा १२ वटा अस्पतालहरुसँग सम्झौता गरेको छ ।

यसरी गरिएका सम्झौताबमोजिम आजबाट कोभिड अस्पताल सञ्चालनमा आएको हो । यससँगै ८८ अक्सिजनसहित २०० वेडको राधास्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ वेडको एचडीयू र २५ वेडको गरी ५० वेडको आइसोलेसन सञ्चालनमा आइसकेका छन् ।

यस्तै विभिन्न अस्पतालहरुमा ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० थान वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी-प्याप) सहित उपकरण जडान हुँदैछन् । यस्तै अस्पतालको भौतिक सुधारका क्षेत्रमा पनि काम भइरहेको छ ।