आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

रक्तदाता मैनालीलाई अमेरिकी सांसदको सम्मान

गोकर्णेश्वर खबर२८ आश्विन २०७७, बुधबार ०६:०३ मा प्रकाशित (३ साल अघि) ५३४ पाठक संख्या

न्यूयोर्क । अमेरिकाको संघीय संसद कंग्रेसका एकजना सांसदले न्यूयोर्क निवासी नेपाली समुदायका सक्रिय व्यक्तित्व अर्जुनप्रसाद मैनालीलाई सम्मान गरेका छन् । न्यूयोर्क राज्यको थर्ड डिष्ट्रिक्टबाट संधीय संसद कंग्रेसमा निर्वाचित भएका थोमस सौजीले अक्टोबर १३ तारिकमा एक सम्मानपत्र पठाउंदै मैनालीले रक्तदानका क्षेत्रमा गरेको उल्लेखनीय योगदानको कदर गरेको बताएका छन् ।


आफ्नो निर्वाचन क्षेत्रमा बसोवास गर्ने मैनालीलाई रक्तदान गरेरमात्र होइन, रक्तदान कार्यक्रमहरु आयोजना गरेर तथा रक्तदानसम्बन्धी शिक्षासमेत दिएर विश्वमै उल्लेखनीय योगदान दिएको उल्लेख गर्दै सांसद सौजीले विश्व रक्तदाता अर्जुनप्रसाद मैनाली दिवसका सन्दर्भमा यो सम्मान प्रदान गरेको विवरण उनले मैनालीलाई पठाएको पत्रमा उल्लेख छ ।
न्यूयोर्कको वेष्टर वे टाउनले गतबर्षदेखि डिसेम्बर २२ लाई विश्वरक्तदाता अर्जुनप्रसाद मैनाली दिवस मनाउने घोषणा गरेको थियो । यही सन्दर्भलाई उल्लेख गर्दै अमेरिकी सांसदले आफूलाई सम्मानपत्र पठाएको मैनालीले डिसी नेपाललाई बताए । हालसम्म मैनालीले एकसय छयासी पटक रक्तदान गरिसकेका छन् । जसअनुसार, उनले निरन्तर ३३ बर्षमा ९३ लिटर रगत दान गरिसकेका छन् । सांसदको पत्रमा उनले ३३ बर्षसम्ममा एकसय छयासी पटक रक्तदान गरेको प्रसंग पनि उल्लेख छ । यसअघि उनले न्यूयोर्कको टाउन, न्यूयोर्कको राज्य संसदबाट प्रसंसा तथा कदर पाइसकेका छन् । सांसद सौजीको सम्मानपछि उनी अमेरिकी देशका केन्द्र, राज्य र स्थानीय तीनैतहबाट सम्मानित हुने नेपाली व्यक्तित्व भएका छन् । देशका तीनवटै तहबाट सम्मानित हुने अवसर पाएकोमा आफूलाई खुसी लागेको मैनालीले  बताए ।