आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

नेपालमा कोरोना संक्रमित २५ हजार पुग्दा एक सयको मृत्यु

गोकर्णेश्वर खबर३१ श्रावण २०७७, शनिबार ०८:१८ मा प्रकाशित (३ साल अघि) ३०८ पाठक संख्या

काठमाडौं । थप पाँचजनाको मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या एक सय पुगेको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाउने संक्रमितमा बाराका दुई, मोरङ, सिरहा र धनुषाका एकएकजना पुरुष छन् ।

धनुषाका ५० वर्षीय पुरुषको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाका अनुसार ती संक्रमितलाई जनकपुर प्रदेश अस्पतालबाट काठमाडौं रेफर गरिएको थियो । उनको बिहीबार साँझ मृत्यु भएको हो । पछिल्लो एक सातायता नेपालमा दैनिकजसो चारपाँचजना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश १ र २ मा समुदायमै कोरोना संक्रमण फैलिन थालेपछि मृत्युदर बढेको तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकामा पनि संक्रमण दर वृद्धि भएको छ । नेपालमा गत जेठमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको थियो । असारको अन्तिम सातासम्ममा मृत्युदर कुल संक्रमितमध्ये ०.२१ प्रतिशत रहेकोमा अहिले बढेर ०.३८ प्रतिशत पुगेको छ ।

सबैभन्दा बढी मृत्यु हुनेमा प्रदेश २ देखिएको छ । हालसम्म प्रदेश २ मा ४२ जना संक्रमितको मृत्यु भइसकेको छ । त्यसपछि वाग्मती प्रदेशमा १८, प्रदेश ५ मा १२, प्रदेश १ मा ९, सुदूरपश्चिममा ८, गण्डकीमा चार र कर्णालीमा चारजनाको मृत्यु भएको छ। पहिलो चरणमा भारतबाट आई क्वारेन्टिनमा रहेनहरूमा कोरोना पुष्टि भएको थियो । उनीहरू सबै युवा रहेकाले मृत्युदर कम भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले बताए । उक्त समाचार आजकाे नागरिक दैनिकमा छापिएकाे छ ।